काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले गत साउन २ र ३ गते सञ्चालन गरेको कक्षा १२ को पूरक परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको छ।

सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागी कुल ७१ हजार ३१० परीक्षार्थीमध्ये ५८ हजार ८ सय ९७ जना (८१.१९ प्रतिशत) ले सबै विषयमा ग्रेड प्राप्त गरी सफलता हासिल गरेका छन्। मर्यादाविपरीत कार्य गरेको भन्दै बोर्डले ३ जना परीक्षार्थीको नतिजा भने रद्द गरेको छ। 

बोर्डका अनुसार नतिजामा चित्त नबुझेमा प्रतिविषय १ हजार रुपैयाँ दस्तुर तिरेर साउन २४ गतेदेखि ३० गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिनेछ। कम्तीमा ‘डी’ ग्रेड प्राप्त गर्ने विद्यार्थीहरूले नतिजा प्रकाशन भएको १० दिनपछि आवश्यक दस्तुर बुझाएर ट्रान्सक्रिप्ट तथा अन्य प्रमाणपत्रका लागि आवेदन दिन सक्ने बोर्डले जनाएको छ।