योगाचार्य डा. अभयराज उपाध्याय,

माइग्रेन २१ सौं शताब्दीमा विश्वको अत्यन्तै तिब्र गतिमा बढ्दै गइरहेको शिरो भाग (टाउको) को रोग हो । २० सौं शताब्दीको अन्तरसम्म पनि यदाकदा मात्र सुनिदै आएको यो रोग आज भोली दैनिकरुपमा सुनिन थालिएको छ । हालै गरिएको एक सर्वेक्षणले प्रत्येक १० घरपरिवार मध्ये एक परिवारको कम्तीमा एक सदस्यलाई यस रोगले ग्रसित पारेको पत्ता लागेको छ भने यूरोग अमेरिकातिर यो संख्या जनघनत्वको आधारमा तयार गरिएको छ । हालै अमेरिकामा मात्र यो रोगीको संख्या २८ लाखको हाराहारीमा रहेको तथ्यांक प्रकाशित भएको छ ।

माइग्रेन के हो त ?

योग एक प्रकारको नसा सम्बन्धी (Neuro) रोग हो जुन शरीरको माथिको भाग अर्थात् टाउकोमा हुन्छ र जसको असर अत्यन्त कष्टकर (असह्य) हुने गर्दछ । आधुनिक चिकित्सा पद्धति (Allopathy) को मत अनुसार भन्ने हो भने एक व्यक्तिमा पाँच पटक भन्दा बढी एकदेखि तीन महिनाभित्रमा असह्य (बेदनात्मक) टाउको दुखेमा त्यसलार्य माइग्रेन मान्न सकिन्छ । यसरी टाउको दख्दाको अवधी भने चारघण्टा देखि ३ दिन वा सो भन्दा बढी पनि हुन सक्दछ । यसरी टाउको दुख्दा एक वा बढी ठाउँमा र कहिलेकाहीँ सरेर समेत दुख्ने हुन सक्छ । बिरामीले खान मन नपराउने खाई पनि बान्ता हुने, धेरेजसो वाकवाकी लाग्ने, बेचैन रहने, बान्ता गर्दा पानी मात्र हुने सो पानी ज्यादै तितो, टर्रो वा अमिलो हुने र ज्यादै गन्हाउने हुन्छ ।

बिरामीमा माथि उल्लेखित कुराहरुको मेल खान गएमा त्यसलाई स्वतः माइग्रेन मान्न सकिन्छ । यसरी आधुनिक चिकिस्सा पद्धतिले माइग्रेनलाई व्याख्या गरेको छ भने उता आयूर्वेद उवं प्राकृतिक चिकित्साले यसलाई यसरी ब्याख्या गरेको पाईन्छ । जस्तैः साधारण टाउको दुखाई भन्दा भिन्न प्रकारको र अत्यन्त तिब्र गतिमा टाउको दुखेमा, आँखाको शक्ति कम भएको महसुस भएमा, स्मरण शक्ति कम भएको महसुस भएमा, दुई हप्ता देखि दुई महिनाको अवधिमा बारम्बार निश्चित समयमा टाउको दुखेमा अनुहारको रौनक हराउँदै गएमा, समय समयमा खाएको खाना नपच्ने र बान्ता हुने जस्तो भै राख्ने र अन्तमा भयंकर टाउको दुखेमा माथि उल्लेखित सबै वा कुनै कुरा विरामीको रोगसँग मिल्न गएमा यसलाई माइग्रेन, शिरोवेदना, वा कतै अर्धकपारी समेत भन्ने गरिएको छ ।

जुनसुकै नामले चिनियता पनि रोग आखिर रोग नै हो । जुन दिनरात फौलिदो क्रममा आजको आधुनिक विश्वमा विस्तारित र स्थापित हुँदै गैरहेको छ “माइग्रेन” को नामले ।

बिरामीले वाकवाकी सँगसँगै कुनै पनि नौलो कुरामा वा मनोरञ्चनात्मक कुरामा समेत मन नलगाउनु, नैराश्यता देखाउनु, ब्यवहारिक पक्षहरु बिस्तारै सिथिल हुँदै जानु र अन्तमा व्यक्तिगत जीवनमा, दैनिक क्रियाकलापका साथै श्रीमान÷श्रीमती बीचको सम्बन्धसमेत बन्द प्राय हुँदै जानु यस रोगका पूर्णत नकारात्मक पक्षहरु हुन् भने बिस्तारै मष्तिस्कको स्मरण शक्तिको समेत ह्रास हुँदै जानु, विद्यार्थी वर्गहरुमा पढाईलाई निरन्तरता दिन ज्यादै कठिनाई हुन्छ भने पेशा व्यवसायमा लागेका व्यक्तिहरुलाई यो बाट हिनताबोध हुँदै जान्छ, काम गर्ने शाक्ति, जोस जाँगर इत्यादि हराउदैं जान्छ । अन्तमा डिप्रेशनको सिकार समेत हुन पुग्दछ ।

कतै कतै यसरी एक पछि अर्को गर्दै रोग बढ्दै जाँदा आत्महत्या समेत गर्ने प्रयास गरेको सो अध्ययनमा देखाएको छ । महिलाहरुमा विशेषत लिकोरिया (योनाङ्गबाट सेतो पानी बहने) भैरहनेहरुमा प्राय माइग्रेन भएको समेत पुष्टि गरेको छ भने अर्को तर्फ धेरै समय गाडीमा ड्राइभ गरी राख्नु पर्ने, ट्राफिक जामको झन्झट वा दिनभरी काम गर्ने स्थान एयरकण्डीशन भएको र स्वास्थ÷स्वाच्छ हावाको बहाव नरहने स्थानमा बस्ने वा काम गर्ने मानिसहरुमा पनि यस रोग को आक्रमण भएको समेत थप अध्ययनबाट पुष्टि भएको छ (अप्राकृतिक रहनसहन) । लामो समयको पिनास रहेमा, नाकको भित्री मासु, हड्डी (Cavity) बढेमा र २४ औं घण्टा चिन्तित भै राख्ने व्यक्तिमा पनि माइग्रेन हुने सम्भावना करिब ९५ प्रतिशत रहन्छ ।

रोगको अवधि, उमेर र आक्रमण हुने निश्चितता पनि नरहेको यस अध्ययनले देखाएको छ । साना केटाकेटीहरु १३/१४ बर्षको स्कूले अवस्थामा नै तथा भर्खर कलेज भएको अवस्था (१५/१६ बर्ष) मा पनि माइग्रेन धेरै देखिएको छ । स्कूल कलेजको (१० +२) को तथ्याङ्क आंकलन गर्दा भने स्कूले विद्यार्थीहरुमा एक स्कूल एक विद्यार्थीको संख्या कम्तीमा छ भनेप कलेज को तथ्याङ्कमा एक कलेजमा कम्तिमा २ विद्यार्थी देखाएको छ । अर्को तर्फ बढ्दो उमेर वा बयस्क व्यक्तिहरुको अध्ययनको क्रममा भने सो तथ्याङ्कमा अलि भिन्न प्रकारको रहेको छ । यस उमेरमा आइपुग्दा पुरुषभन्दा महिलाहरुमा यो रोगले बढी आक्रमण गरेको देखिएको छ ।

कसरी हुन्छ माइग्रेन ?

आयूर्वेदिक एवं प्राकृतिक चिकित्सा पद्धतिका अनुुसार वंशाणुगत तर्फ हेर्दा यदि पिडित व्यक्ति महिला हुनुहुन्छ भने वहाँको बुवालाई र पुरुष हुनुहुन्छ भने वहाँको आमालाई अर्थात आमाको छोरामा जाने ज्यादै बढी सम्भावना रहन्छ भने बुवाको छोरीमा जाने अत्यन्तै बढी सम्भावना रहन्छ । निम्न अन्य सम्भावनाहरु हेरौं :

  • रुखा सुखा प्रकृतिको खाना एवं फास्ट फुडको लत लागेमा ।
  • पहिला खाएको खाना नपचिकन फेरि अर्को खाना खाएमा ।
  • शरिरमा पानीको मात्रा कम भएमा वा पानी नपिएमा ।
  • वास्तविक भोकको जानकारी हुन नसकेमा ।
  • दैनिक आइसक्रिमजन्य/दुध पनीर, चीज वा अन्य सफ्ट ड्रिन्क्सहरु धेरै पिउने गरेमा ।
  • मल / मूत्र, हाछ्यूं, हाई, डकार एवं अपान वायु रोक्ने गरेमा र लामो समयको कब्जियत भैरहेमा । 
  • शरीरलाई आवश्यकता भन्दा बढी ब्यायाम, कसरत वा योगाासनहरु गर्ने गरेमा ।
  • अति मैथुन क्रियामा संलग्न रहेमा वा शारीरिक एवं मानसिक थकान लामो समय सम्म रहिरहने भएमा ।
  • अति विश्राम वा अति श्रम दुवै अवस्थामा ।
  • कम्प्यूटर, ल्यापटप, मोबाइल फोन वा अन्य प्रकारका मेशिनरी इलेक्ट्रोनिक सामानहरु धेरै समय सम्म बिना विश्राम चलाउने गरेमा ।
  • धेरै लामो समय सम्म रुघा नलागेमा वा धेरै लामो समय सम्म एक नाकको प्वाल बन्द भैरहेको महसुस भएमा ।
  • धेरै लामो समयको तर दैनिक प्रकृतिको अवस्थामा बसको यात्रा गरिराख्नु पर्ने भएमा ।
  • महिलाहरुमा विशेष गरेर लिकोरिया भएमा योग रोगको चाप बढ्ने धेरै नै सम्भावना रहन्छ ।
  • मासिक चक्रको धेरै नै गडबढी भैरहेमा, लामो समयसम्म रक्तश्राव भैराख्ने भएमा ।
  • ज्यादै चिन्ता लिने, शारीरिक व्यायाम, योगासन ईत्यादि केही नगर्ने व्यक्तिमा ।
  • समय–समयमा काँध दुख्ने, गलेको महसुस हुने र कुनै पनि काममा आफुलाई सन्तुष्ट राख्न नसक्ने व्यक्तिहरुमा ।

यो रोगको चाप अत्याधिक हुने गरेको पाइएको छ ।

माइग्रेन आक्रमण हुनको लागि यसरी माथि उल्लेखित वा अन्य धेरै कारणहरु पनि हुन सक्छन् । तर यसको उपचारको लागि भने केवल दुखाई कम गर्ने र क्षणीक एवं अप्राकृतिक निद्राको गोली वा लठ्याउने गोली मात्र खाएर समाधान हुँदैन । वास्तविकता पत्ता नलगाई माथिल्लो सतहको उपचारले यो रोगलाई नियन्त्रणमा लिनको लागि कुनै पनि चिकित्सकलाई गाह्रो पर्न सक्छ । यो रोग निदान अवश्यमभावी छ । तर यसको जरा अर्थात Root Cause को उपचार सर्वप्रथम हुनुपर्दछ तर आजभोली राम्रो निदान नगरिकन नै विभिन्न प्रकारको Oral Medicine जो Pain Killer हरु र नसाले लठ्याउने प्रकारका र अझ Digipam समेत दिने गरिएको छ जुन विरामीको शरीर एवं आउँदो सामाजिक सम्बन्धमा समेत नकारात्मक असर पर्न सक्छ । केहि हद सम्म यस्ता उपायहरु ठिकै होलान तर रोगको Rout Cause पत्ता लगाउने कोशिस नगरी धमाधम निरन्तर रुपमा यस्तै प्रकारको औषधीको सेवन गराई राख्नु हुँदैन ।

सावधानी र समाधानका उपायहरु ;

यस्ता प्रकृतिका विरामीहरुलाई यथासक्य चिन्ता, घृणा, फोहर वातावरण, स्वच्छ हावाको आवागमन नहुने ठाउँ, झै–झगडा तनाव वातावरण र धेरै भिडभाडबाट अलग्गै राख्नु पर्छ नै । त्यसबाहेक निम्न कुराहरुमा समेत पूर्ण ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ :

  • घर परिवार एवं सम्पूर्ण सदस्यहरुमा पूर्णरुपमा सहयोग र प्रेमपूर्ण व्यवहार ।
  • विरामीको दैनिकी र खानपान अत्यन्त साधारण र सामान्य प्रकारको हुनुपर्दछ ।
  • राती समयमा सुत्ने विहान सकेसम्म चाडैं उठ्ने (सूर्योदय भन्दा अगाडि) उठ्ना साथ नै पानी पिउने बानी गर्ने (जाडोयाममा मनतातो÷गर्मीमा चिसो) ।
  • हलुका व्यायाम गर्ने बानी बसाल्ने (योगासन, प्राणायाम वा अन्य, विशेषत श्वासप्रश्वासको व्यायामलाई जोड दिने)
  • कौसी, चौर आदि स्थानमा विहानको स्वच्छ हावामा टहल्ने ।
  • ध्यानको अभ्यास गर्ने कोसिस गर्ने, समय बढाउँदै लग्ने ।
  • बासी, सडेगलेको, तारेको भुटेको, रुखासुखा प्रकृतिको एवं मसला धेरै भएको खाना कम गर्ने, तारेको तरकारी, मासु माछा, तामा नखाने ।
  • आफ्नो सोचलाई सकारात्मक दिशातिर लिएर जाने नकारात्मक नसोच्ने ।
  • टाउको दुख्दा (बेदना हुँदा शान्त बस्ने कोसिस गर्ने, धेरै डाहा, छटपटी नगर्ने, भित्तामा पलङ्गमा टाउको नठोक्ने वा परिवारका अन्य सदस्यहरुलाई टाउको थिच्ने नलगाउने ।
  • दरिलो कपडाको पट्टी जस्तो बनाएर राम्रोसँग निधार वरिपरिबाट बाँधेर राख्ने ।
  • व्यस्त जीवनलाई विस्तारै सामान्य बनाउँदै जाने ।
  • दिउसो, मध्यान्हमा नसुत्ने ।
  • प्रशस्त मात्रामा पानी पिउने ।
  • राम्रो, रमाइला, र रोचक पत्रपत्रिका पढ्ने बानी गर्ने ।

यसरी माथी उल्लेखित कुराहरुलाई मात्र हामीले लागु गर्न सक्यौं भने रोग ले घना आक्रमण गर्न पाउँदैन र सामान्य बनाउँदै जान सकिन्छ ।

उपचार तर्फको कुरा गर्दा

उपचार तर्फको कुरा गर्दा सर्वप्रथम त विरामीलाई दुःखाई कम गर्नको लागि कुनै सामान्य pain Killer को प्रयोग गर्न सकिन्छ नै तर सधैंको लागि भने अर्थात यो रोगको लागि यही खाईराख्ने भन्ने चैं छैन । माथी भनिए झैं वास्तविक रोगको कारण पत्ता लगाउने कोसिस गर्नु अत्यन्त जरुरी हुन्छ चाहे त्यो एलोपेथी प्रविधिको होस् वा आयुर्वेद अथवा प्राकृतिक चिकिन्साको नै किन नहोस् । त्यस पछीमात्र रोगले बास्तविक उपचार पाउँछ र रोगीले रोगमुक्त जीवन पाउँदछ । मानव मष्तिस्क अत्यन्त सम्बेदनशील छ र यो मष्तिस्क भरिनै २४ सै घण्टा अत्यन्त ठूलो परिमाणमा रक्त संचार भै रहने हुन्छ जसको लागि शरीरमा पानी र अक्सिजनको यथेष्टमात्रा आवश्यक पर्दछ । जब कुनै एक भागमा मात्र (मष्तिष्कको) यो चाप सहन गर्ने शक्ति हुँदैन वा सो रगतको वहावलाई सुचारु गराउन सक्दैन । त्यस पछी यो रोगको सुरुवात हुन जान्छ र जति पछी हुँदै गयो ति नसाहरु खुम्चने क्रम बढ्दै जान्छ र चाडै चाडै दुख्ने क्रम पनि हुँदै जान्छ ।

त्यसैले मानसिक रुपमा शान्त रहनु पर्ने यस रोगमा बढी भन्दा बढी सतर्क त विरामी आफैले पनि रहनु पर्ने हुन्छ । हठ योग साधना, षट्क्रम विधिका विधिहरु जस्तै जलनेती, सुक्रनेती वा कुञ्जल क्रिया, प्राणायामका विविध अभ्यासहरु, ध्यानको अभ्यास साथै शिरोभागको हलुका व्यायाम, हलुका मसाज आदि अत्यन्तै राम्रो प्रयास हुन सक्छ यो रोगको घना आक्रमणबाट बच्नको लागि भने यी सबै अभ्यासहरु दक्ष गुरु, शिक्षक, प्रशिक्षक वा प्राकृतिक चिकित्सा केन्द्रहरुमा भएर सिक्न र उपचार लिन सकिन्छ तर यस्ता अभ्यासहरु टेलिभिजनमा देखेर, पत्रपत्रिकामा पढेर वा अरुले गरेको देखेर गर्ने प्रयास नगर्नु नै वेस हुनेछ अन्यथा राम्रोको लागि गर्दा नराम्रो पक्षहरु बढ्दै जाने सम्भावना रहन्छ ।

तर जुन मष्तिस्क स्थित नसाहरु छन् जो पूर्णरुपमा सञ्चालन हुन सकिरहेका छैनन् तिनीहरुलाई ब्ववस्थित गर्नको लागि प्राकृतिक उपचार अत्यन्तै राम्रो पक्ष मानिएको छ । जसले ति नसाहरुलाई फेरी सुचारुरुपमा सञ्चालनमा लिएर आउन सक्छन् र विरामीलाई पूर्णरुपमा रोगबाट मुक्त हुँदै गएको महसुुस हुँदै जानेछ । तर यस्ता उपचारहरु गर्नको लागि पनि दक्ष शिक्षक वा ब्याक्तिबाट गराउनु उपयुक्त हुनेछ ।