काठमाडौं - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशहरूको प्रतिबन्धका बाबजुद रुसको अर्थतन्त्र बलियो रहेको बताएका छन्।
राष्ट्रपति पुटिनले सङ्घीय सभालाई वार्षिक सम्बोधन गर्ने क्रममा भने, 'हामीले आर्थिक अवस्थाको स्थायित्व सुनिश्चित गरेका छौँ। नागरिकको सुरक्षा गरेका छौँ। रोजगारी बचाएका छौँ। अत्यावश्यक वस्तुलगायत बजारको अभाव हुनबाट जोगाएको छौँ। वित्तीय प्रणाली र उद्यमीलाई सहयोग गरेका छौँ।'
सन् २०२२ मा रूसको जीडीपी २.१ प्रतिशतले घटेको छ । यद्यपि गत वर्षको सुरुमा पश्चिमी विश्लेषकहरूले २०–२५ प्रतिशतको आर्थिक मन्दी बढ्ने बताए पनि त्यसो नभएको पुटिनको दाबी छ ।
अन्तरराष्ट्रिय बजारमा रुबलको अंश सन् २०२१ डिसेम्बरको तुलनामा दोब्बर भएको छ । राष्ट्रपति पुटिनले मस्कोले अमेरिकी डलर र अन्य पश्चिमी मुद्राहरूबाट स्वतन्त्र, स्थिर एवं सुरक्षित विश्वव्यापी भुक्तानी प्रणाली बनाउन साझेदारहरूसँग काम गरिरहने बताएका छन्।
'प्रतिबन्धको सुरुआत गर्नेहरूले आफैँलाई सजाय दिइरहेका छन् । उनीहरूले आफ्नै देशमा मुद्रास्फीति बढाएका छन्, रोजगारी गुमाएका छन् । उद्योगहरू बन्द हुनेगरी ऊर्जा सङ्कट निम्त्याएका छन् । तर उनीहरूले आफ्ना सबै कमजोरीको कारण रुसलाई थोपर्ने गरेका छन्,' पुटिनले थपे।
0 comment