काठमाडौं - सोमबार बिहान टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पका कारण दुबै देशमा गरी लगभग ८ हजार मानिसको मृत्यु भएको छ।
टर्कीमा ५ हजार ८ सय ९४ र सिरियामा १ हजार ९३२ जना गरी भूकम्पमा परेर अहिलेसम्म ७ हजार ८ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको पुष्टी भएको हो।
दक्षिणी टर्की र उत्तरी सिरियामा उद्धार कार्य जारी छ।
टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले विश्वका ७० भन्दा बढी देशबाट राहत र उद्धार कार्यमा सहयोग गर्ने प्रस्ताव आएको बताएका छन्। अर्दोआनले सहयोग पठाउने वा प्रस्ताव गर्ने देशहरूलाई धन्यबाद दिएका छन्।
उनले टर्कीको दक्षिणका १० प्रदेशमा तीन महिनाका लागि सङ्कटकाल लगाएका छन्।
भारतले टर्कीमा स्वास्थ्यकर्मी र उपकरणसहित ३० शय्याको फिल्ड अस्पताल पनि पठाएको छ। भारतीय वायुसेनाका चार सी-१७ ग्लोबमास्टर यातायात विमान भारतीय सेना र एनडीआरएफ टोली लिएर टर्की प्रस्थान गरेका छन्।
संयुक्त राष्ट्र संघका एक पूर्व सहायता प्रमुख जेन एगल्यान्डले उत्तरी सिरियामा नियन्त्रणमा लिन खोज्ने समूहहरू मार्फत नभई मानवीय र अन्तर्राष्ट्रिय समूहहरू मार्फत सहयोग पठाउनुपर्ने बताए।
उनले सिरियामा कुनै पनि सरकार नियन्त्रित दल वा विपक्षी कसैको मार्फत पनि सहयोग दिन नहुने बताए।
भूकम्पप्रति दुख व्यक्त गर्दै नेटोको मुख्यालयमा सदस्य राष्ट्रका झण्डा आधा झुकाइएको छ।
भूकम्पमा परी चर्चित गोलकिपर अयाप तुर्कस्लानको मृत्यु
टर्कीमा गएको भूकम्पमा परी चर्चित गोलकिपर अहमद अयाप तुर्कस्लानको मृत्यु भएको छ। उनको फुटबल क्लब येनी मालत्यास्पोरले यसको पुष्टि गरेको छ।
क्लबले ट्वीटरमा भनेको छ, 'हाम्रा गोलकिपर अहमद अयाप तुर्कस्लानको भूकम्पमा मृत्यु भयो। हामी उहाँलाई बिर्सने छैनौं। उहाँ धेरै राम्रो व्यक्ति हुनुहुन्थ्यो।'
२८ वर्षीय तुर्कस्लानले येनी मालत्यास्पोर क्लबबाट ६ पटक खेलेका थिए। उनी सन् २०२१ मा यो क्लबमा प्रवेश गरेका थिए।
0 comment