काठमाण्डौं - टर्कीमा सोमबार बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ५०० नाघेको छ ।

दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भू–भागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ५०० पुगेको अन्तराष्ट्रिय मिडियाले जनाएको छ । 

टर्कीका उपराष्ट्रपति फुआत ओक्टेले टर्कीमा मात्रै २८४ जनाले ज्यान गुमाएका छन् । यस्तैगरी सिरियामा २३० जनाभन्दा बढीको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

सिरियाली स्वास्थ्य मन्त्रालयले भूकम्पबाट अलेप्पो, लटाकाइ, हामा र टर्टस प्रान्तमा मानिसको मृत्यु भएको जनाएको छ ।

भूकम्पबाट १० वटा सहरमा ठूलो क्षति पुगेको बताइएको छ । टर्कीमा २३२३ जना र सिरियामा ६३९ जना घाइते भएका छन् ।

यसअघि सन् १९९९ मा देशको उत्तर पश्चिममा गएको शक्तिशाली भूकम्पमा परी १७ हजार मानिसको ज्यान गएको थियो ।