काठमाडौं - भारतकाे गुजरात गान्धीनगरस्थित कुडासन क्षेत्रमा बुधबार राति एउटा निर्माणाधीन भवनमा फलामको ठूलो स्ल्याब खस्दा कैयौँ श्रमिकहरू भग्नावशेषमा पुरिएका छन्।

दुर्घटनालगत्तै सुरु गरिएको उद्धार मार्फत हालसम्म १५ जना श्रमिकलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। गुजरातका गृहराज्यमन्त्री हर्ष सङ्घवीले घटनास्थलमै पुगेर उद्धार कार्यको प्रत्यक्ष निरीक्षण गरेका छन्। उनका अनुसार उद्धार गरिएका १५ जनामध्ये १२ जनालाई उपचारका लागि गान्धीनगर सिभिल अस्पतालमा भर्ना गरिएको छ भने सामान्य चोटपटक लागेका ३ जनालाई प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको छ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार यो दुर्घटना बुधबार राति करिब ९ बजे भएको हो। दुई वटा भवनको बीचमा फलामको संरचना (स्ट्रक्चर) तयार गर्ने क्रममा अचानक स्ल्याब खसेपछि त्यहाँ कार्यरत श्रमिकहरू च्यापिएका थिए।

घटनाको जानकारी पाउनासाथ दमकल, प्रहरी र स्थानीय प्रशासनको टोली परिचालन गरी उद्धार कार्य तीव्र पारिएको थियो। भग्नावशेषभित्र अझै के-कति श्रमिक पुरिएका छन् भन्नेबारे यकिन हुन सकेको छैन। उद्धार टोलीले अहिले पनि घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी राखेको छ।