काठमाडौं - इराकको एक अदालतले १४ जना आतंककारीलाई मृत्युदण्डको सजाय सुनाएको छ। 

नागरिक हत्यामा संलग्न पाइएको भन्दै अदालतले १४ जनालाई बिहीबार मृत्युदण्डको सजाय सुनाएको हो।

सन् २०१४ मा इराकको टिक्रिट सहरमा आइएस आतंककारीहरूले कब्जा गर्ने प्रयास गरेका थिए। त्यसक्रममा कम्तीमा पनि एक हजार ७०० जना इराकी सैनिक मारिएका थिए। यसरी आम रुपमा मारिएका ती सैनिकको हत्यामा संलग्नताको पुष्टि भएपछि उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको हो। 

इराकी सहर टिक्रिटलाई कब्जा गर्ने क्रममा आइएसले सो समयमा यहाँका सैनिकमाथि धावा बोलेका थिए। उनीहरूले ड्युटीमा रहेका सैनिकमाथि हमला गरेका थिए। ती भिडियोहरू सो समयमा पनि सार्वजनिक भएका थिए। 

ती सैनिकको हत्यामा संलग्नको खोजी यहाँको सेनाले लामो समयदेखि गरिरहेको थियो।