काठमाडौं - गाजामा शान्ति स्थापित गर्ने उद्देश्यले तय गरिएको 'शान्ति योजना'को अर्को चरण तत्काल लागू गराउन हमासले अमेरिकालगायत मध्यस्थकर्ता राष्ट्रहरूलाई आग्रह गरेको छ। 

हमासका वरिष्ठ अधिकारी बासेम नइमले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र उनको सरकारलाई योजनाको मार्गचित्र (रोडम्याप) पालना गराउन अमेरिकाले निर्णायक दबाब दिनुपर्ने बताएका छन्। नइमले अमेरिका यस सम्झौताको मुख्य जमानीकर्ता (ग्यारेटर) भएकाले उसको भूमिका महत्त्वपूर्ण हुने स्पष्ट पारेका हुन्।

अर्कोतर्फ, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित १५ बुँदे शान्ति योजनाप्रति असहमति जनाएका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा बोल्दै नेतान्याहूले हमासलाई पूर्ण रूपमा निशस्त्रीकरण नगरिएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने अडान दोहोर्‍याए।'हाम्रा सैनिक र नागरिकको सुरक्षामाथि आउने खतरा रोक्न इजरायली सेनाले कारबाही जारी राख्नेछ,'उनले भने।

गत महिना ट्रम्पको 'बोर्ड अफ पिस'ले गाजामा रहेका सशस्त्र समूहहरूको पूर्ण निशस्त्रीकरणमा सहमति भएको दाबी गरे पनि गाजाबाट इजरायली सेना फिर्ता हुने विषयमा दुवै पक्षबीच गम्भीर मतभेद कायमै छ। हमासले भने इजरायलले सम्पूर्ण सैन्य कारबाही रोकेर गाजा छाडेमा मात्र हतियार बिसाउने पूर्वसर्त राख्दै आएको छ।