काठमाडौं - पेरुमा शनिबार एउटा पर्यटक विमान दुर्घटना हुँदा विमानमा सवार सबै १३ जनाको मृत्यु भएको छ। दक्षिणी पेरुस्थित विश्व प्रसिद्ध ‘नाज्का लाइन्स’ माथि उडान भरिरहेको सेस्ना क्याराभान सी-२०८ विमान शनिबार दिउँसो करिब १ बजे दुर्घटनामा परेको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्।
मृत्यु हुनेहरुमा ११ विदेशी पर्यटक र २ चालक दलका सदस्य रहेका छन् । जसमा ७ जना इटालियन पर्यटक, २ जना जर्मन पर्यटक, २ जना स्पेनिस पर्यटक र २ जना पेरुभियाली पाइलट रहेका थिए ।
प्रहरी मेजर जोर्ज एन्ड्राडेका अनुसार दुर्घटना अत्यन्तै भीषण भएकाले कोही पनि जीवित बच्न सकेनन्। दुर्घटनास्थलबाट शवहरू निकाल्ने काम भइरहेको छ।
पिस्को विमानस्थलबाट उडान भरेको उक्त विमान स्थानीय ‘एरोडियाना’ एयरलाइन्सको रहेको थियो। एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै नियामक निकायको निर्देशन अनुसार आफ्ना उडानहरूको समीक्षा गर्ने जनाएको छ। दुर्घटनाको स्पष्ट कारण अझै खुल्न सकेको छैन भने अनुसन्धान जारी छ।


0 comment