काठमाडौं - पाकिस्तानको क्वेटा जिल्लाको सोरंगे क्षेत्रमा भएको कोइला खानीमा विष्फोट हुँदा ३४ जनाको मृत्यु भएको छ। अधिकारीहरूले उनीहरूको शव संकलन गरिएको बताएका छन्।

पीडीएमएका अपरेशन म्यानेजर मुहम्मद फहादले शुक्रबार बिहान थप खानी कामदारको शव निकाल्न उद्धार कार्य भइरहेको बीबीसीलाई बताएका छन्।बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुगतीले खानी तथा खनिज विभागबाट तत्काल प्रतिवेदन मागेका छन् । उनले दुर्घटनाको कारण पत्ता लगाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

बलुचिस्तानका खनिज मन्त्री मीर शोएब नोशिरवानीले दुर्घटनामा मृत्यु भएका खानी कामदारका परिवारलाई ५ लाख रुपैयाँ र घाइतेलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने बताएका छन्।

सोरंज बलुचिस्तानको राजधानी क्वेटाबाट लगभग ४० किलोमिटर पूर्वमा अवस्थित छ। यो ठूलो संख्यामा कोइला खानीहरू भएको पहाडी क्षेत्र हो। सोरंज र यसको वरपरका क्षेत्रमा पहिले पनि कोइला खानी विष्फोट हुने गरेका छन्।