काठमाडौं - गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग अवरुद्ध भएपछि सङ्कटमा परेका रसुवाको लाङटाङ क्षेत्रका सबै घरधुरीका लागि हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरी वितरण गरिएको छ ।
जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-४ मा पर्ने प्रमुख पर्यटकीय तथा दुर्गम हिमाली बस्ती लाङटाङका हरेक परिवारलाई खाद्यान्न सङ्कट हुन नदिन पालिका र सरोकार भएका निकायको सक्रियतामा राहत पुर्याइएको हो । बाढीले स्थानीयवासीको मुख्य व्यापारिक केन्द्र स्याफ्रु बजारमा पूर्ण क्षति पुर्याउनुका साथै सडक र पुलसमेत बगाएपछि ढुवानीको एकमात्र विकल्प हेलिकप्टर बनेको थियो ।
गोसाइँकुण्ड गाउँपालिका-४ का वडाध्यक्ष डिन्ढुप तामाङका अनुसार विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) को हेलिकप्टरमार्फत हालसम्म १० टन खाद्यान्न लाङटाङ पुर्याएर स्थानीय सबै घरधुरीलाई आवश्यकता अनुसार न्यायोचित रूपमा वितरण गरिसकिएको छ ।
सदरमुकाम धुन्चेबाट दुई दिनको पैदल दूरीमा रहेको यस क्षेत्रका सबै बासिन्दाले गाउँमै खाद्यान्न पाएपछि ढुक्क भएका छन् । सडक सञ्जाल पुनः सञ्चालन नहुँदासम्मका लागि यो ढुवानीले लाङटाङका सम्पूर्ण परिवारको दैनिक जीविकोपार्जनमा ठूलो राहत मिलेको वडा कार्यालयले जनाएको छ ।


0 comment