काठमाडौं - लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालले आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
‘सम्पूर्ण किसान मजदुर एक होऔँ, वित्तीय शोषणविरुद्ध संघर्ष गरौँ’ भन्ने मूल नारासहित देशका विभिन्न स्थानबाट आएका पीडितहरूले मार्च पास गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरूले लघुवित्त तथा वित्तीय संस्थाबाट आफूहरू अन्याय र शोषणमा परेको दाबी गर्दै न्याय, राहत तथा आफ्नो हकहितको सुनिश्चितताको माग गरेका थिए। उनीहरूले सरकारसँग वित्तीय शोषण अन्त्य गर्न र पीडितका माग सम्बोधन गर्न आग्रह गरेका छन्।
लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित बनेका सर्वसाधारणले आफ्ना माग पूरा गराउन लामो समयदेखि विभिन्न चरणका आन्दोलन सञ्चालन गर्दै आएका छन्। सोही अभियानअन्तर्गत आइतबार राजधानी मार्चसहित माइतीघर मण्डलामा प्रदर्शन गरिएको आन्दोलनका आयोजकले जनाएका छन्।


0 comment