काठमाडौं– ललितपुर महानगरपालिका वडा नं. २२ लाई पहिलो बालश्रममुक्त वडा घोषणा भएको छ । ललितपुर महानगरमा जम्मा २९ वटा वडा रहेकामा वडा नंं २२ पहिलो बालश्रमुक्त वडा बन्न सफल भएको हो । बागमति प्रदेशका उद्योग पर्यटन श्रम तथा यातायात मन्त्री माननीय राजेन्द्र प्रजापतिको प्रमुख अतिथ्यतामा एक भव्य समारोहका साथमा वडाले बालश्रममुक्त वडा घोषणा गर्यो । घोषणा कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय मन्त्री राजेन्द्र प्रजापतिले ललितपुर महानगरपालिका वडा नं. २२ महानगरकै पहिलो बालश्रममुक्त वडा बन्न सफल भएकोमा बधाई दिदै कानुन र ऐनले निषेध गरेका काममा बालबालिकालाई प्रयोग गर्न नहुने र बालश्रम प्रयोग गर्ने उद्योग कारखानाहरुलाई कानुनी दायरामा ल्याउनपर्नेमा जोड दिनु भएको थियो । बालबालिकाको लागि बालकाम र बालश्रमको सवालमा साझा बुझाईको आवश्यक पनि उहाँले औल्याउनु भएको थियो । गरिबीको वाहानामा बालबालिकालाई श्रममा लगाउनु कानुनी अपराध भएको हुनाले यसलाई रोक्नका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने कुरामा मन्त्री प्रजापतिको जोड रहेको थियो । बागमति प्रदेश सरकार बालअधिकार सुनिश्चितका लागि सधै संवेदनशिल भएर काम गरिरहेको हुनाले जहिले पनि साथ र सहयोग गर्नका लागि प्रतिवद्ध भएको जानकारी समेत उहाँले कार्यक्रममा दिनुभयो । 

कार्यक्रममा शुभकामना मन्तव्य दिदै ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बालश्रममुक्त घोषणा गरेपछि त्यसलाई टिकाईराख्नका लागि त्यसको दीगोपनाका लागि पनि वडाले योजना बनाएर काम गर्नुपर्ने बताउनु भयो । बालअधिकार प्रवद्र्धन गर्ने सवालमा स्थानीय तहको जिम्मेवारी अलिक बढी भएको हुनाले पनि बालश्रम अन्त्य गर्नु निकै महत्वको विषय भएको उहाँले बताउनु भयो । बालबालिकालाई श्रममा होइन विद्यालयमा पठाउनु पर्ने अभियान पालिकाले पनि चलाईरहेको र निमुखा बालबालिकालाई छात्रवृत्तिको व्यवस्था गरी पालिकाले बालबालिकाको शैक्षिक अवस्था सुधारिरहेको उहाँले जानकारी पनि गराउनु भयो । 
ख                                                                    
कार्यक्रमको सभाध्यक्ष गरिरहेका वडा नं. २२ का वडा अध्यक्षले बालश्रम कानुनी रुपमा नै बर्जित भएको सवाल हुनाले बालबालिकाप्रति सबै संवेदनशिल बन्नुपर्ने बताउनु भयो । यस वडामा बालश्रम प्रयोग गरेको देखेमा वडामा जानकारी गराउन पनि उहाँले आग्रह गर्नु भयो । कार्यक्रममा बागमति प्रदेश सांसद, वल्र्ड भिजन इन्टरनेशनल नेपाल अन्य उपस्थित व्यक्तीत्वहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बाल विकास समाज र वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग रहेको थियो भने वडा सदस्य एवं वडस्तरीय बालअधिकार समिति संयोजक जुनु मिजारले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।