काठमाडौं - गृहमन्त्री सुदन गुरुङको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दू सम्राट सेना नेपालबीच १९ बुँदे समझदारी भएको छ। जनकपुरधाममा आइतबार भएको वार्तामा उक्त सहमति भएको हो । सहमतिसँगै हिन्दू सम्राट सेना नेपालले जारी आन्दोलन तथा विरोधका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको घोषणा गरेको छ।

वार्तापछि हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीले सरकारले आफ्ना मागप्रति सकारात्मक धारणा व्यक्त गरेको र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको बताए। उनले सहमतिपछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिए।

समझदारीअनुसार आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई रिहा गर्ने, उनीहरूमाथि मुद्दा नचलाउने तथा आन्दोलनका क्रममा गोली चलाउने सुरक्षाकर्मीमाथि छानबिन गरी दोषी ठहरिए कानुनबमोजिम कारबाही गर्ने विषयमा सहमति भएको छ।

वार्तापछि गृहमन्त्री गुरुङले सरकारले पूर्ववत् १३ बुँदे तथा थप गरिएका छ बुँदे माग औपचारिक रूपमा ग्रहण गरेको जानकारी दिँदै सहमतिका विषय कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइने बताए।

समझदारीमा समेटिएका मागमध्ये नेपाललाई हिन्दू राष्ट्रका रूपमा पुनःस्थापनाको विषयमा संसद्मा छलफल गराउने, धार्मिक स्थलको व्यवस्थापन, सामाजिक सञ्जालमार्फत धार्मिक तथा जातीय द्वेष फैलाउने गतिविधिमाथि कानुनी कारबाही, सुनसरीको देवानगञ्ज घटनापछि पक्राउ परेकाहरूको मुद्दा पुनरावलोकन, घाइतेहरूको उपचार व्यवस्था, धार्मिक आयोगको पुनरावलोकन तथा नागरिकता छानबिनलगायत विषय समावेश छन्।

त्यसैगरी, थप गरिएका बुँदामा नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्रका रूपमा पुनःस्थापनाका लागि संसदीय छलफल गराउने, सीमा क्षेत्रमा हुने घुसपैठ नियन्त्रणका लागि उच्चस्तरीय छानबिन र सुरक्षा व्यवस्था सुदृढ गर्ने, धार्मिक संस्थाको आर्थिक स्रोतको अनुसन्धान गर्ने, सर्वोच्च अदालतको निर्णयअनुसार लाउडस्पिकरसम्बन्धी व्यवस्था कार्यान्वयन गर्ने तथा नागरिकता छानबिनलाई प्रभावकारी बनाउने विषय उल्लेख गरिएको छ।

सुनसरीको देवानगञ्ज घटनापछि मधेश प्रदेशमा उत्पन्न विवाद समाधान गर्ने उद्देश्यले गृहमन्त्री गुरुङ नेतृत्वको सरकारी टोली जनकपुरधाम पुगेको थियो।