काठमाडौं - अमेरिकाले मध्यपूर्व क्षेत्रमा रहेका आफ्ना नागरिकहरूलाई उच्च सतर्कता अपनाउन र तनाव बढेमा जुनसुकै बेला त्यो क्षेत्र छाड्न तयार रहन चेतावनी जारी गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा पूर्वाधारहरूलाई लक्षित गरी अहिलेसम्मकै भीषण सैन्य आक्रमणको आदेश दिन सक्ने खबरहरू सार्वजनिक भएसँगै अमेरिकी विदेश मन्त्रालयले उक्त चेतावनी जारी गरेको हो। विदेश मन्त्रालयद्वारा जारी सुरक्षा अलर्टमा मध्यपूर्व बाहिर रहेका अमेरिकी कूटनीतिक नियोग र प्रतिष्ठानहरूमाथि इरान तथा उसका समर्थक समूहहरूले आक्रमण गर्न सक्ने उल्लेख गरिएको छ।

बहराइन, इराक, इजरायल, जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) स्थित अमेरिकी दूतावासहरूले आफ्ना नागरिकहरूलाई उडान रद्द हुन सक्ने, हवाई क्षेत्र बन्द हुन सक्ने र यात्रामा अवरोध आउन सक्ने भन्दै पूर्वतयारी अवस्थामा रहन निर्देश गरेको छ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार शुक्रबार बसेको क्याबिनेट बैठकमा राष्ट्रपति ट्रम्पले इरानमाथि थप कडा आक्रमण गर्ने योजनाबारे छलफल गरेका थिए। ह्वाइट हाउसका केही राजनीतिक सल्लाहकारहरूले यस योजनाको विरोध गरे पनि बैठकका क्रममा राष्ट्रपति ट्रम्पले इरानमाथि अझ कडा आक्रमण गरिने बताएका थिए।

यसअघि बिहीबार अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले जोर्डनस्थित अमेरिकी आधार शिविर र होर्मुज स्ट्रेटमा रहेका जहाजहरूमाथि इरानले गरेको ब्यालिस्टिक मिसाइल प्रहारको जवाफमा इरानी 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स' (आइआरजीसी) का दर्जनौँ ठेगानाहरूमा बमबारी गरिएको पुष्टि गरेको छ। इरानी सरकारी सञ्चारमाध्यमले भने अमेरिकी आक्रमणमा दुई वर्षका एक बालकसहित तीन जनाको मृत्यु भएको जनाएको छ।

यसैबीच, पछिल्लो समय अमेरिका र साउदी अरेबियाले संयुक्त रूपमा इराकमा रहेका इरान समर्थित सशस्त्र समूहहरूमाथि सैन्य कारबाही सुरु गरेका छन्। गत अप्रिलमा भएको युद्धविराम जुन महिनामा भङ्ग भएयता दुवै पक्षबीच शृङ्खलाबद्ध आक्रमणहरू जारी रहेका छन्।

अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी गर्दै आएको छ भने इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडा र अन्तर्राष्ट्रिय तेल आपूर्तिको प्रमुख समुद्री मार्ग 'होर्मुज स्ट्रेट' भई जाने जहाजहरूलाई लक्षित गरी मिसाइल तथा ड्रोन आक्रमण जारी राखेको छ। अमेरिका र इजरायलले गत फेब्रुअरी २८ देखि इरानविरुद्ध निरन्तर सैन्य अभियान सञ्चालन गर्दै आएका छन्।