काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्कालका लागि हुने भनिएको सैन्य आक्रमण स्थगित गरिएको घोषणा गरेका छन्। आइतबार सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत जानकारी दिँदै उनले दुई देशबिच सम्झौता वा सहमतिको रूपरेखा तयार भएकाले यो निर्णय लिइएको दाबी गरेका छन्।
ट्रम्पका अनुसार अमेरिकाकहाँ दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा बलियो सैन्य शक्ति रहेको र इरानविरुद्ध कारबाहीका लागि टोली तयारी अवस्थामा रहेको थियो। तर इरान र मध्यपूर्वका केही अन्य देशहरूले सम्झौताको रूपरेखा तयार भइसकेकाले आक्रमण रोक्न अनुरोध गरेका थिए।
प्रस्तावित सम्झौताअनुसार इरानले 'स्ट्रेट अफ होर्मुज' लाई तत्काल, पूर्ण रूपमा र विना कुनै बाधा खोल्नुपर्नेछ। यसका साथै इरानको आणविक खतरालाई पूर्ण रूपमा अन्त्य गर्ने विषय पनि सम्झौतामा समावेश गरिएको छ।
'विश्वको भविष्य तथा इरानको स्थिरता र समृद्धिलाई ध्यानमा राख्दै आक्रमण रद्द गर्ने निर्णय गरिएको हो,' ट्रम्पले भनेका छन्। यस निर्णयमा इजरायलको पनि समर्थन रहेको उल्लेख गर्दै ट्रम्पले सबै पक्षलाई सम्झौताको प्रक्रिया चाँडोभन्दा चाँडो टुंग्याउन आग्रह गरेका छन्।


0 comment