काठमाडौं - नायिका तथा अभियन्ता रेखा थापाले नेपालमा सतीप्रथाको अन्त्य भए पनि महिलामाथि हुने विभेद र विभिन्न प्रकारका हिंसा अझै कायम रहेको बताएकी छन्।
आइतबार ‘महिला शक्ति जागरण अभियान’को औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै थापाले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र हिंसा अन्त्यका लागि राज्य, समाज र युवापुस्ताले साझा रूपमा जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याइन्। उनले महिला अधिकार सुनिश्चित नगरी समुन्नत र समतामूलक समाज निर्माण सम्भव नहुने धारणा व्यक्त गरिन्।
देशमा विकास निर्माण र समृद्धिका ठूला–ठूला योजना तथा बहस भइरहेका बेला महिलाका अधिकार, सुरक्षा र सशक्तीकरणका विषय भने ओझेलमा परेको उनको भनाइ छ।
नेपालमा दाइजो कुप्रथाको पूर्ण अन्त्य, महिला हिंसा न्यूनीकरण तथा लैङ्गिक समानता कायम गर्ने उद्देश्यका साथ ‘महिला शक्ति जागरण अभियान’ सुरु गरिएको हो।
अभियानअन्तर्गत आगामी दिनमा महिला अधिकारसम्बन्धी जनचेतनामूलक कार्यक्रम, कानुनी सचेतना, अन्तरक्रिया तथा सामाजिक अभियान सञ्चालन गरिने जनाइएको छ। आयोजकका अनुसार अभियानले दाइजो प्रथा, महिला हिंसा र लैङ्गिक विभेदविरुद्ध समाजका सबै तहलाई एकताबद्ध गर्दै सकारात्मक सामाजिक परिवर्तनको आधार तयार गर्ने अपेक्षा गरिएको छ।


0 comment