काठमाडौं - फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले दक्षिण–पश्चिमी सहर बोर्दोतर्फ डढेलो तीव्र रूपमा फैलिन थालेपछि सोमबार आपतकालीन मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

बोर्दोका मेयर थोमास काजेनाभका अनुसार डढेलो अहिले सहरबाट करिब १५ किलोमिटर टाढा पुगेको छ। उनले अर्को हीटवेभले आगो नियन्त्रणका प्रयासलाई थप जटिल बनाउने चेतावनी दिएका छन्। यद्यपि हालसम्म करिब ८ लाख ५० हजार जनसंख्या भएको बोर्दो सहर खाली गराउने योजना नरहेको उनले बताएका छन्।

पछिल्लो एक सातादेखि फ्रान्स र स्पेनमा व्यापक डढेलो फैलिएको छ। यी दुई देशमा मात्रै हालसम्म ३ लाख ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

राष्ट्रपति म्याक्रोंले शनिबार फ्रान्सले प्रभावित क्षेत्रको पुनर्निर्माण गर्ने र सरकारले जति समय आवश्यक पर्छ त्यति समयसम्म प्रभावित नागरिकको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

बोर्दो वरपरका क्षेत्रबाट दशौँ हजार मानिसलाई पहिले नै सुरक्षित स्थानमा सारिएको छ। फ्रान्सका गृहमन्त्री लोरेन्ट न्युनेजले अवस्था अझै अत्यन्त प्रतिकूल रहेको र डढेलो अनियमित रूपमा दिशा परिवर्तन गर्दै सहरतर्फ बढिरहेको बताएका छन्।

मौसम पूर्वानुमानअनुसार मंगलबारदेखि फ्रान्सका केही क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्न सक्ने चेतावनी दिइएको छ।

फ्रान्सको जिरोन्द क्षेत्रमा फैलिएको मुख्य डढेलोका कारण पाइरोक्युमुलोनिम्बस नामक दुर्लभ फायर थन्डरस्टर्म बनेको फ्रान्सको राष्ट्रिय अग्निनियन्त्रक महासंघले जनाएको छ। यस्तो आँधी डढेलोबाट उत्पन्न हुने अत्यधिक ताप, धुवाँ, हावा र चट्याङका कारण आफैं शक्तिशाली बन्दै जान्छ जसले आगो नियन्त्रणलाई झन् कठिन बनाउँछ।