काठमाडौं - इरानले समझदारी पत्रमा उल्लेख भएका सबै बुँदाहरू पूर्ण रूपमा पालना नभएसम्म अमेरिकासँग प्रत्यक्ष शान्ति वार्तामा नबस्ने स्पष्ट पारेको छ।यससँगै दुई देशबीच स्थायीरुपमा हुने भनिएकाे शान्ति सम्झौताको सम्भावना फेरि अन्योलमा परेकाे हाे । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका  ज्वाइँ जारेड कुश्नर र विशेष दूत स्टिभ विटकफ मध्यस्थकर्ताहरूलाई भेट्न कतार आइपुगे पनि  इरानले अमेरिकासँग कुनै पनि प्रत्यक्ष वार्ता नगर्ने भएका हुन् । कतारले मंगलबार एक बयान जारी गर्दै अमेरिका और इरानबीच कुनै पनि उच्चस्तरीय बैठकको योजना नरहेको पुष्टि गरेपछि शान्ति प्रक्रिया थप सुस्त बन्दै गएको संकेत  देखिएकाे छ । 

दुई हप्ताअघि हस्ताक्षर गरिएको उक्त समझदारी पत्रमा कुल १४ वटा बुँदाहरू समेटिएका छन्। जसमा ६० दिनका लागि 'स्ट्रेट अफ हर्मुज' जलमार्ग सुरक्षित रूपमा पुनः सञ्चालन गर्ने र अमेरिकाले इरानमाथि लगाएका प्रतिबन्धहरू फुकुवा गर्नुपर्ने मुख्य सर्तहरू छन्।

इरानका मुख्य वार्ताकार मोहम्मद बगेर गालिबाफले मंगलबार बोल्दै हाल भइरहेका बैठकहरू केवल समझदारी पत्रका प्रतिबद्धताहरू पूरा गराउने उद्देश्यले मात्र केन्द्रित रहेको बताएका छन्। साथै उनले 'स्ट्रेट अफ हर्मुज' बाट जहाजहरूको सुरक्षित आवतजावतका लागि ६० दिनका लागि मात्र सहमति भएको चेतावनी समेत दिएका छन्।

चार महिना लामो युद्ध अन्त्य गर्न दुई हप्ताअघि मात्र अन्तरिम सम्झौता भए तापनि हालैका दिनहरूमा दुवै देशले एकअर्कामाथि सम्झौता उल्लंघनको आरोप लगाउँदै खाडी क्षेत्रमा आक्रमण गरेपछि तनाव पुनः उत्कर्षमा पुगेको छ।