काठमाडौं - लेबनानमा इजरायली आक्रमणमा परी  ३९ जनाको मृत्यु भएको छ।

मन्त्रालयले जनाएको अनुसार दक्षिणी शहर साक्साकियेहमाथि गरिएको एउटा इजरायली आक्रमणमा एक बालिकासहित कम्तीमा सात जनाको ज्यान गएको छ।

इजरायल रक्षा बलले आफूहरूले लेबनानी सशस्त्र समूह हेजबोल्लाहलाई लक्षित गरेको बताउँदै निर्दोष सर्वसाधारणलाई क्षति पुगेको खबर बारे जानकारी रहेको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १६ अप्रिलमा इजरायल र लेबनान सरकार बीच युद्धविराम सम्झौताको घोषणा गरेपछि पनि इजरायली सेना र हेजबोल्लाहबीच गोली हानाहान जारी रहेको छ।

इजरायलका अधिकांश हवाई आक्रमण दक्षिणी लेबनानमा केन्द्रित रहेका छन्। इजरायली सेनाले हेजबोल्लाहसँग सम्बन्धित पूर्वाधार र व्यक्तिहरूलाई निशाना बनाइरहेको जनाएको छ। हेजबोल्लाह इरान समर्थित एक मिलिसिया तथा राजनीतिक दल हो।

शनिबार लेबनानको सरकारी समाचार संस्था एनएनएले साक्साकियेहसहित दक्षिणका विभिन्न क्षेत्रमा इजरायली आक्रमण भएको जनाएको थियो।

स्वास्थ्य मन्त्रालयले उक्त आक्रमण एक बालिकासहित सात जनाको प्रारम्भिक मृत्यु तथा तीन बालबालिकासहित १५ जना घाइते भएको बताएको छ।

इजरायल रक्षा बलले भने उक्त क्षेत्रमा सैन्य प्रयोजनका लागि प्रयोग गरिएको संरचनाभित्र रहेका हेजबोल्लाहका लडाकुहरूलाई निशाना बनाइएको जनाएको छ।