काठमाडौं - चीन र पाकिस्तानले इरानमा जारी युद्ध अन्त्य गर्न पाँच बुँदे योजना प्रस्तुत गरेका छन् । जसमा तत्काल युद्धविराम र होर्मुज जलडमरू पुनः खोल्ने प्रस्ताव समावेश छ।
यो पहल पाकिस्तानका विदेश मन्त्रीले वार्ता प्रयासका लागि चिनियाँ समर्थन माग्दै बेइजिङ पुगेपछि तयार पारिएको हो।
चीनको विदेश मन्त्रालयले यी दुई देशले शान्तिको पक्षमा नयाँ प्रयासहरू गरिरहेका बताएका छन्।
इरानमा भइरहेको युद्धप्रति चीनको प्रतिक्रिया अहिलेसम्म केही शान्त देखिएको छ। बेइजिङसँग तेलको भण्डारण पर्याप्त रहेको र अन्य धेरै एशियाली देशहरूको तुलनामा आपूर्ति अभावबाट कम प्रभावित हुने स्थिति छ। तर यो संकट लम्बिएमा विश्वको कारखाना मानिने चीनको औद्योगिक क्षेत्र दीर्घकालीन रूपमा प्रभावित हुन सक्ने चिन्ता बढिरहेको छ।
इरानको युद्धले राष्ट्रपति सी चिनफिङले प्राथमिकता दिने स्थिरतालाई जोखिममा पारिरहेको छ। चीनलाई आफ्नो आर्थिक वृद्धि र निर्यात कायम राख्न विश्व अर्थतन्त्र स्थिर हुन आवश्यक छ।
अब युद्ध सुरु भएको एक महिना बिति सक्दा र पेट्रोलको मूल्य निरन्तर बढ्दै जाँदा चिनियाँ सरकारले युद्धविरामका लागि पहल तीव्र बनाएको छ।
चीनले यसअघि पनि मध्यपूर्वमा मध्यस्थकर्ताको भूमिका खेल्ने प्रयास गरेको थियो ।
सन् २०२३ मा उसले साउदी अरेबिया र इरानबीच सम्झौता गराएको थियो जसले कूटनीतिक सम्बन्ध पुनःस्थापना गरायो।
एक वर्षपछि उसले १४ वटा प्यालेस्टिनी गुटका नेताहरूलाई आतिथ्य दिँदै राष्ट्रिय एकता सरकार गठन गराउने प्रयास गरेको थियो।
हालसम्म यस योजनामा कसैले प्रतिक्रिया दिएको स्पष्ट संकेत छैन तर यो पहल अगाडि बढाएर राष्ट्रपति सीले आफूलाई तटस्थ मध्यस्थकर्ता र शान्ति स्थापनाकर्ताको रूपमा प्रस्तुत गर्न खोजिरहेका छन् र अर्को महाशक्तिका नेताभन्दा फरक छवि देखाउने प्रयास गरिरहेका छन्।



0 comment