काठमाडौं -  इरानले बुधबार अमेरिकाले प्रस्ताव गरेको युद्धविराम योजना अस्वीकार गर्दै मध्यपूर्वमा युद्ध रोक्ने कुनै वार्तामा संलग्न नभएको स्पष्ट पारेको छ।

साथै उसले इजरायल र खाडीका अरब देशहरूमा थप आक्रमणहरू पनि गरेको छ। ती आक्रमणमध्ये कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन ट्यांकीमा प्रहार हुँदा आगलागी भएको थियो।

इरानको यो अडान त्यतिबेला आएको हो जब इजरायलले तेहरानमा हवाई आक्रमण गरिरहेको छ र संयुक्त राज्य अमेरिकाले क्षेत्रमा प्याराट्रुपर र थप मरीन फौज पठाइरहेको छ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले सरकारी टेलिभिजनमा दिएको अन्तर्वार्तामा भने, “हामीले युद्ध अन्त्य गर्ने वार्तामा संलग्न छैनौं र हामी कुनै पनि प्रकारको वार्ताको योजना पनि बनाएका छैनौं।”

यसअघि इरानी सरकारी टिभीको अंग्रेजी च्यानलले एक अज्ञात अधिकारीलाई उद्धृत गर्दै अमेरिकाको युद्धविराम प्रस्ताव अस्वीकार गरिएको र इरानले आफ्नै सर्तहरू राखेको जनाएको थियो।

पाकिस्तानका दुई अधिकारीहरूले जसले अमेरिकी प्रस्ताव इरानसम्म पुर्‍याएका थिए, १५ बुँदे योजनामा प्रतिबन्धहरूमा राहत, इरानको आणविक कार्यक्रम सीमित गर्ने, मिसाइलहरूमा नियन्त्रण गर्ने र विश्वको करिब पाँचौं भाग तेल आपूर्ति हुने होर्मुज जलडमरूमध्य पुनः खोल्ने विषय समावेश रहेको बताएका छन्।

मध्यस्थतामा संलग्न एक इजिप्टेली अधिकारीका अनुसार उक्त प्रस्तावमा इरानले सशस्त्र समूहहरूलाई दिने समर्थनमा पनि प्रतिबन्ध लगाउने कुरा समावेश छ।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरान अझै सम्झौता गर्न इच्छुक रहेको बताएका छन्। उनले भने “उनीहरू वार्ता गरिरहेका छन् र सम्झौता गर्न चाहन्छन्, तर आफ्नै जनताबाट मारिने डरले खुला रूपमा भन्न सकिरहेका छैनन्।”

इरानले भने लामो समयदेखि आफ्नो ब्यालिस्टिक मिसाइल कार्यक्रम वा क्षेत्रीय मिलिशियाहरूलाई दिने समर्थनबारे वार्ता नगर्ने अडान लिँदै आएको छ। साथै होर्मुज जलडमरूमध्यमा नियन्त्रण राख्नु उसको रणनीतिक शक्ति मानिन्छ।

यसबीच इरानका आक्रमणहरूले ऊर्जा पूर्वाधारमा असर पारेपछि तेलको मूल्य तीव्र रूपमा बढेको छ। यद्यपि सम्भावित वार्ताको खबरपछि तेलको मूल्य केही घटेर प्रति ब्यारेल करिब १०० डलरमा झरेको छ, जुन अझै पनि युद्ध सुरु हुँदाको तुलनामा करिब ३५ प्रतिशत बढी हो।

अमेरिकाले थप सैनिकहरू पनि मध्यपूर्व पठाइरहेको छ। करिब १ हजार सैनिक ८२औँ एयरबोर्न डिभिजनबाट पठाइनेछन् भने थप ५ हजार मरीन र हजारौं नौसैनिक पनि खटाइने छन्।

यसबीच इजरायलले तेहरानमा पुनः हवाई आक्रमण गरेको जनाएको छ। इरान र लेबनानस्थित हिज्बुल्लाह समूहले पनि इजरायलतर्फ आक्रमण जारी राखेका छन्।

साउदी अरेबियाले आफ्नो पूर्वी क्षेत्रमा कम्तीमा ८ ड्रोन खसालेको जनाएको छ भने बहराइनमा साइरन बजाइएको थियो। कुवेतले पनि धेरै ड्रोन खसालेको बताएको छ, तर एउटा ड्रोनले विमानस्थलको इन्धन ट्यांकीमा प्रहार गरेको थियो।

युद्धमा हालसम्म ठूलो मानवीय क्षति भएको छ। इरानमा १५ सय भन्दा बढी, इजरायलमा २०, लेबनानमा करिब ११ सय र इराकमा ८० सुरक्षाकर्मी मारिएका छन्। अमेरिकी सेनाका १३ सदस्यको पनि मृत्यु भएको छ।

कूटनीतिक प्रयासहरू जारी रहे पनि वार्ता निकै चुनौतीपूर्ण देखिएको छ किनकि दुवै पक्षका मागहरूबीच ठूलो अन्तर रहेको छ।