काठमाडौं - मध्यपूर्वमा अमेरिकाले प्रयोग गर्दै आएका सैन्य आधारहरूमा इरानले गरेको आक्रमणका कारण युद्धको पहिलो दुई सातामै करिब ८० करोड डलर बराबरको क्षति भएको नयाँ विश्लेषणले देखाएको छ।
सेन्टर फर स्ट्रयाटेजिक एण्ड इन्टरन्यास्नल स्टडिज (CSIS) को प्रतिवेदन र बीबीसीले गरेको विश्लेषणअनुसार यो क्षतिको ठूलो हिस्सा अमेरिका र इजरायलले युद्ध सुरु गरेपछि इरानले गरेको प्रारम्भिक प्रतिकारात्मक आक्रमणबाट भएको हो।
यस क्षेत्रका अमेरिकी सम्पत्तिहरूमा इरानले गरेको आक्रमणबाट भएको वास्तविक क्षतिको पूर्ण विवरण अझै स्पष्ट छैन। तर अमेरिकी सैन्य पूर्वाधारमा करिब ८० करोड डलरको अनुमानित क्षतिले युद्ध लम्बिँदै जाँदा अमेरिकाले बेहोर्नुपर्ने ठूलो लागतको संकेत दिन्छ जुन पहिले सार्वजनिक गरिएको भन्दा बढी हो।
सीएसआईएसका वरिष्ठ सल्लाहकार तथा अध्ययनका सह-लेखक मार्क क्यानसियनले भने, “यस क्षेत्रमा रहेका अमेरिकी आधारहरूमा भएको क्षति कम देखाइएको छ। क्षति ठूलो देखिए पनि पूर्ण विवरण थप जानकारी आएपछि मात्र थाहा हुनेछ।”
टिप्पणीका लागि गरिएको अनुरोधमा अमेरिकी रक्षा विभागले युनाईटेड स्टेर्स सेन्ट्रल कमान्ड (CENTCOM) तर्फ संकेत गरेको थियो, जसले यो युद्धको नेतृत्व गरिरहेको छ। तर त्यहाँका अधिकारीहरूले टिप्पणी गर्न अस्वीकार गरे।
इरानका प्रतिकारात्मक आक्रमणहरूले जोर्डन, संयुक्त अरब इमिरेट्स लगायत मध्यपूर्वका विभिन्न देशहरूमा रहेका अमेरिकी वायु रक्षा प्रणाली र उपग्रह सञ्चार प्रणालीहरूलाई लक्षित गरेका थिए।
जोर्डनस्थित एक एयरबेसमा रहेको थाड मिसाइल रक्षा प्रणालीको अमेरिकी राडारमा भएको आक्रमणले ठूलो क्षति पुर्याएको थियो। सीएसआईएसका अनुसार AN/TPY-२ राडार प्रणालीको लागत करिब ४८ करोड ५० लाख डलर हुन्छ। यी वायु रक्षा प्रणालीहरू लामो दूरीका ब्यालिस्टिक मिसाइल अवरोध गर्न प्रयोग गरिन्छन्।
इरानका आक्रमणहरूले अमेरिकी आधारहरूमा रहेका भवन, संरचना र अन्य पूर्वाधारमा थप करिब ३१ करोड डलर बराबरको क्षति पुर्याएको अनुमान गरिएको छ।
बीबीसीको भेरीफाई उपग्रह तस्बिर विश्लेषणअनुसार, इरानले कम्तीमा तीन एयरबेसमा एकभन्दा बढी पटक आक्रमण गरेको छ। यसले विशेष अमेरिकी लक्ष्यहरूलाई निशाना बनाउने इरानको प्रयास देखाउँछ। रुसले पनि उक्त क्षेत्रमा रहेका अमेरिकी सैन्य गतिविधिबारे तेहरानलाई गुप्तचर सूचना दिएको रिपोर्टहरूमा उल्लेख छ।
उपग्रह तस्बिरहरूमा कुवेतको अलि अल सलिम बेस, कतारको अल युडेईड बेस र साउदी अरेबियाको प्रिन्स सुल्तान बेसमा विभिन्न चरणमा नयाँ क्षति देखिएको छ।
फेब्रुअरी २८ मा डोनाल्ड ट्रम्पले इजरायलसँग मिलेर इरानविरुद्ध आक्रमण सुरु गरेपछि हालसम्म १३ जना अमेरिकी सैनिकको ज्यान गएको छ।
अमेरिकास्थित ह्युमन राईट्स एक्टिभिस्ट न्यूज एजेन्सीका अनुसार, कुल मृतक संख्या करिब ३,२०० पुगेको छ, जसमा १,४०० सर्वसाधारण छन्।
ट्रम्पले इरानको आणविक कार्यक्रम नष्ट गर्ने, पारम्परिक सैन्य शक्ति कमजोर पार्ने र क्षेत्रीय समूहहरूलाई दिने समर्थन अन्त्य गर्ने आफ्नो लक्ष्य हासिलतर्फ अमेरिका अघि बढिरहेको बताएका छन्।उनले भने, “हामी इरानमा निकै राम्रो गरिरहेका छौं।”
तर होर्मुज जलडमरूमध्य लगभग बन्द हुने अवस्थाले विश्व अर्थतन्त्रमा असर परेको छ। साथै युद्ध कति लामो समय चल्छ र ट्रम्पले स्थलसेना पठाउने कि नपठाउने भन्ने अन्योलले स्थिति अझ जटिल बनाएको छ।
उपग्रह तस्बिरहरूको विश्लेषणमा अमेरिकास्थित ठूला सेवा प्रदायकहरूले तस्बिर सार्वजनिक गर्न लगाएका प्रतिबन्धका कारण अवरोध आएको छ। तर पनि यस क्षेत्रमा अमेरिकी सैन्य हितविरुद्ध इरानले गरेको प्रतिकारात्मक आक्रमणमा केही निश्चित ढाँचाहरू पहिचान गर्न सकिन्छ।
राडार र उपग्रह प्रणालीहरू सुरुदेखि नै मुख्य लक्ष्य बनेका छन्, जब इरानी आक्रमणले बहरायनस्थित अमेरिकी नौसैनिक आधारलाई निशाना बनायो। यी प्रणालीहरू आधुनिक सैन्य कारबाहीका “आँखा र कान” जस्तै काम गर्छन्।
उपग्रह तस्बिरहरूले विशेष गरी दुई वटा राडोम (संवेदनशील उपकरणलाई जोगाउने आवरण) नष्ट भएको देखाएका छन्। यसबाट भित्रका प्रणालीहरू पनि क्षतिग्रस्त भएको सम्भावना उच्च छ, यद्यपि क्षतिको परिमाण कति हो भन्ने स्पष्ट छैन।
कुवेतस्थित अमेरिकी सैन्य सुविधा क्याम्प एरिफजान र साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा रहेका राडार साइटहरूमा पनि आक्रमण गरिएको थियो, जहाँ अमेरिकी विमानहरू तैनाथ छन्। पछिल्लो स्थानका तस्बिरहरूमा थाड वायु रक्षा प्रणालीको एक राडार कम्पोनेन्टबाट धुवाँ उठिरहेको देखिन्छ।
संयुक्त अरब इमिरेट्स र जोर्डनमा रहेका अमेरिकी आधारहरूमा थाड प्रणालीहरूमा अझ व्यापक क्षति देखिएको छ। तर यसको आर्थिक मूल्य कति हो भन्ने स्पष्ट छैन। यी प्रणालीहरू कमजोर बनेपछि अमेरिकाले दक्षिण कोरियाबाट थाड प्रणालीका केही भागहरू मध्यपूर्वमा सार्नुपरेको रिपोर्ट गरिएको छ।
इरानका प्रतिकारात्मक आक्रमणबाट भएको क्षति, युद्धमा अमेरिकाले व्यहोरेको कुल खर्चको सानो अंश मात्र हो।
रिपोर्टअनुसार, रक्षा विभागका अधिकारीहरूले कंग्रेसका सदस्यहरूलाई दिएको जानकारीमा युद्धको पहिलो ६ दिनमै ११.३ अर्ब डलर खर्च भएको बताइएको छ। सीएसआईएसका अनुसार पहिलो १२ दिनमा यो खर्च १६.५ अर्ब डलर पुगेको छ।
पेन्टागनले युद्धका लागि थप २०० अर्ब डलर बजेट माग गरेको छ। अमेरिकी रक्षा सचिव पेटे हेगसेथले उक्त रकम अझ परिवर्तन हुन सक्ने बताएका छन्। उनले भने, “दुष्टहरूलाई मार्न पैसा चाहिन्छ।”


0 comment