काठमाडौं - इजरायली लडाकु विमानहरूले लेबनानको राजधानी बेरुतमा बमबारी गरेका छन्।
यसअघि हिजबुल्लाहले उत्तरी इजरायलको हैफा नजिक रहेको एक सैन्य अड्डामाथि रकेट र ड्रोन आक्रमण गरेको दाबी गरेको थियो।
इरान समर्थित उक्त लेबनानी सशस्त्र समूहले सोमबार बिहान आफ्नो आक्रमण आयोतोल्लाह अलि खामेनीको हत्या भएको प्रतिशोध स्वरूप लेबनान र यसको जनताको रक्षा तथा दोहोरिरहने इजरायली आक्रमणहरूको जवाफका रूपमा गरिएको जनाएको छ।
सो समूहले विज्ञप्तिमा भनेको छ, “प्रतिरोधको नेतृत्वले सधैं दोहोर्याइरहेको छ कि इजरायली आक्रमणको निरन्तरता र हाम्रा नेताहरू, युवाहरू र जनताको हत्या भएपछि हामीलाई आत्मरक्षा गर्ने र उपयुक्त समय र स्थानमा जवाफ दिने अधिकार प्राप्त हुन्छ।”
यसले लेबनानमाथि इजरायलले प्रायः दैनिक रूपमा गरिरहेका आक्रमणहरूतर्फ संकेत गरेको हो।
“इजरायली शत्रुले १५ महिनादेखि जारी आक्रमणलाई चेतावनीपूर्ण प्रतिकार बिना निरन्तरता दिन सक्दैन। यो आक्रमण रोक्न र कब्जामा रहेका लेबनानी भूभागबाट फिर्ता हुनुपर्नेछ,” समूहले जनाएको छ।
यो हिंसाले क्षेत्रीय युद्धको रूप लिँदै गएको अवस्थालाई थप तीव्र बनाएको छ । जहाँ एकातर्फ अमेरिका र इजरायल छन् भने अर्कोतर्फ इरान र उसका सहयोगीहरू छन्।
लेबनानी सरकारबाट स्वतन्त्र रूपमा सञ्चालन हुने हिज्बुल्लाह सन् २०२४ को युद्धपछि कमजोर बनेको छ । जसमा इजरायलले समूहका अधिकांश सैन्य तथा राजनीतिक नेताहरूलाई मारेको थियो। उसले इजरायललाई कति क्षति पुर्याउन सक्छ वा उसको हस्तक्षेपले इरानका लागि शक्ति सन्तुलनमा कति प्रभाव पार्छ भन्ने स्पष्ट छैन।
इजरायलले छिट्टै जवाफस्वरूप दक्षिण बेरुतमा हवाई आक्रमण गरेको छ। स्थानीय सञ्चारमाध्यमहरूले दक्षिण लेबनानका केही गाउँहरू तथा देशको पूर्वी भागमा रहेको बेका उपत्यकामा समेत इजरायली आक्रमण भएको खबर दिएका छन्।


0 comment