काठमाडौं - भियतनाममा लगातार परेको भारी वर्षा, बाढी र भूस्खलनका कारण गत एक सातामा कम्तीमा ९० जनाले ज्यान गुमाएका छन्। दक्षिण–मध्य क्षेत्र अक्टोबरको अन्त्यदेखि निरन्तर वर्षाको चपेटामा परेपछि तटीय सहर न्हा ट्राङदेखि पहाडी क्षेत्र दा लाटसम्म व्यापक क्षति पुगेको अधिकारीहरूले बताएका छन्।
डाक लाक प्रान्तमा मात्र ६० भन्दा बढीको मृत्यु पुष्टि भएको छ। दशौँ हजार घर डुबानमा परे, ८० हजार हेक्टरभन्दा बढी बाली नष्ट भए र करिब ३२ लाख गाई–वस्तु तथा कुखुरा बगेका छन्।
स्थानीयहरूले घर र छतमा फसेर रात बिताउनुपरेको बताइरहेका छन्। प्रभावित बजार क्षेत्रमा सामान भिजेर नष्ट भएकाले व्यवसायीहरू भारी संकटमा परेका छन्।
सरकारले हेलिकप्टरमार्फत राहत वितरण गर्दै कपडा, खानेकुरा र पानी शुद्धीकरण सामग्री पठाइरहेको छ। धेरै राजमार्ग र रेलसेवा अझै अवरुद्ध छन्।
वातावरण मन्त्रालयका अनुसार पाँच प्रान्तमा मात्र करिब ३४ करोड डलरको क्षति भएको छ। यस वर्ष जनवरी–अक्टोबरमा भियतनाममा प्राकृतिक विपद्मा २७९ जनाको मृत्यु वा बेपत्ता भएका छन्।




0 comment