काठमाडौं - युएनडीपीको ११ करोड ९७ लाख रुपैयाँ आर्थिक सहयोगमा वीरगन्जको नारायणी अस्पतालमा निर्मित स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ। अस्पतालमा बिरामीको उपचारका क्रममा उत्पादन हुने जोखिमयुक्त र जोखिमरहित स्वास्थ्यजन्य वस्तुहरूको वैज्ञानिक व्यवस्थापनका लागि अस्पतालले केन्द्र सञ्चालनमा ल्याएको हो। 

अस्पताल परिसरमै निर्माण गरिएको केन्द्रको बिहीबार युएनडिपी नेपालका क्षेत्रीय निर्देशक बर्नाडो कोकोले औपचारिक उद्घाटन गरे। उद्घाटनसँगै केन्द्र सञ्चालनमा आएको अस्पतालका निमित्त मेसु डाक्टर वीरेन्द्र बहादुर प्रधानले बताए। 

प्रधानका अनुसार अस्पतालबाट दैनिक १७० केजी स्वास्थ्यजन्य फोहोर उत्पादन हुँदै आएको छ। बिहीबारदेखि सञ्चालनमा आएको केन्द्रमा जडान गरिएको मेसिनबाट प्रतिघण्टा ५० केजी स्वास्थ्यजन्य फोहोरवस्तु प्रशोधन गर्ने क्षमता रहेको छ। 

यसअघि अस्पतालमा निस्कने स्वास्थ्यजन्य फोहोर वस्तु, अस्पताल परिसरकै खाली जग्गमा अव्यवस्थित रूपमा फालिने गरिएको थियो। जोखिम र प्रदुषणयुक्त ती फोहोर वस्तुका कारण अनेक किसिमका समस्या हुने गरेको थियो। 

तर अब केन्द्र सञ्चालनमा आएपछि भने स्वास्थ्यजन्य फोहोरको वैज्ञानिक ढंगले व्यवस्थापन गर्न थालिएको र यसले अस्पताल र आसपासका क्षेत्रमा वातावरणीय प्रदूषण पनि नहुने अस्पतालका प्रवक्ता डाक्टर उदयनारायण सिंहले बताए। 

केन्द्रमा स्वास्थ्यजन्य फोहोर प्रशोधन गरेर ठोस फोहोरहरू बिक्री गर्दा अस्पतालको आन्तरिक आम्दानी पनि बढ्ने भएको सिंहले बताए। 

उनले भने, 'प्रशोधित फोहोरमध्ये नष्ट गर्नुपर्ने फोहोर महानगरपालिकाको ल्याण्डफिल साइटमा पठाउँछौं, पुनः प्रयोग गर्न मिल्ने (प्लाष्टिक जन्य वस्तु) ठोस फोहोर भने हामी आफैं बिक्री गर्छौं, त्यसको आम्दानीबाट तीन चार जना कर्मचारीलाई तलब पनि खुवाउन सक्छौं।' सिंहले फोहोरलाइ बेचेर मोहोर कमाउन सकिने बताए।