काठमाडौं - इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईले अमेरिकाले इरानको आणविक सुविधाहरूमा आक्रमण गरेर कुनै पनि उपलब्धि हासिल गर्न नसकेको बताएका छन् ।
इजरायलसँगको युद्धविरामपछि पहिलो सार्वजनिक सम्बोधनमा बोल्दै खामेनेईले ती आक्रमणहरूले इरानको आणविक कार्यक्रमलाई गम्भीर रूपमा असर पुर्याउन नसकेको दाबी गरेका छन् । कतारस्थित अमेरिकी हवाई बेसमाथिको इरानी प्रतिकारलाई भने उनले गम्भीर झट्काको संज्ञा दिएका छन्।
यसैबीच वाशिङ्टनले भने आफ्ना आक्रमणहरूले इरानको आणविक महत्वाकांक्षालाई गम्भीर क्षति पुर्याएको भन्दै आफ्नो मूल्यांकनलाई दोहोर्याएको छ।
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकाले इजरायलसँग मिलेर संकलन गरेको गुप्त सूचनामा आधारित मूल्यांकनले इरानको आणविक कार्यक्रमलाई वर्षौं पछाडि धकेलेको दाबी गरेा छन्।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीनवटा प्रमुख आणविक स्थलहरूमा गरिएको आक्रमणले ती सुविधा पूर्ण रूपमा नष्ट गरेको बताएका थिए। तर केही अज्ञात अमेरिकी अधिकारीहरूको हवाला दिँदै आएको समाचारप्रति उनले कडा प्रतिक्रिया दिएका छन् जसमा क्षति अपेक्षाभन्दा कम भएको भनिएको थियो।
बिहीबार बिहान पेन्टागनमा वरिष्ठ जनरल ड्यान केनसँग संयुक्त पत्रकार सम्मेलनमा बोल्दै हेगसेथले सो मिसनलाई ऐतिहासिक सफलता भनेका छन् र इरानी आणविक केन्द्रहरूलाई प्रयोगविहीन बनाएको दाबी गरेका छन्।



0 comment