काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा इजरायल र इरानबीचको १२ दिने युद्ध अन्त्य भएको छ। ट्रम्पद्वारा प्रस्तावित युद्धविराम दुवै पक्षले मङ्गलबार स्वीकार गरेका छन्, जसले मध्यपूर्वमा फैलिएको सैन्य तनावलाई रोक लगाउने विश्वास गरिएको छ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत युद्धविरामको घोषणा गर्दै भने, ‘युद्धविराम अब प्रभावमा छ। कृपया यसलाई उल्लङ्घन नगर्नुहोस्!’ युद्धविराम इरानी आक्रमण रोकिएको एक घण्टाभन्दा बढी समयपछि लागु भएको हो।
युद्धविराम घोषणा हुनुअघि दुवै पक्षबीच व्यापक आक्रमण भएको थियो। इरानले इजरायल लक्षित अन्तिम मिसाइल आक्रमण गर्दा कम्तीमा चार जनाको मृत्यु भयो भने इजरायलले तेहरानलगायत विभिन्न इरानी सहरहरूमा हवाई आक्रमण गर्यो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानविरुद्धको अपरेसनमा सबै रणनीतिक लक्ष्यहरू हासिल गरेको बताए।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पसँगको समन्वयमा इरानसँग द्विपक्षीय युद्धविराम गर्न इजरायल सहमत भएको बताए । इजरायलले इरानको सैन्य नेतृत्व र धेरै सरकारी साइटहरूलाई पनि क्षति पुर्याएको र तेहरानको आकाशमा नियन्त्रण हासिल गरेको उनले बताए।
‘इजरायलले युद्धविरामको कुनै पनि उल्लङ्घनको कडा जवाफ दिनेछ,’उनले भने । ट्रम्पको घोषणापछि कुनै टिप्पणी नगरेको इरानले केही घन्टाअघि इरानका शीर्ष कूटनीतिज्ञले हवाई आक्रमण रोक्न तयार रहेको बताएका थिए ।
‘अहिलेसम्म कुनै पनि युद्धविराम वा सैन्य कारबाहीको अन्त्यमा कुनै सम्झौता भएको छैन,’ इरानी विदेशमन्त्री अब्बास अराघचीले एक्समा एक पोस्टमा लेखेका छन् ।
ट्रम्पले यस सम्झौतालाई ‘धैर्य, साहस र समझदारी’को परिणाम भन्दै दुवै देशलाई बधाई दिएका छन्। प्रारम्भिक सहमति अनुसार, इरानले पहिलो चरणमा युद्धविराम सुरु गर्ने र १२ घण्टापछि इजरायलले सहभागी हुने बताइएको छ। त्यसपछि २४ घण्टा भित्र दुवै पक्षबाट युद्धको औपचारिक अन्त्य घोषणा गरिनेछ।
युद्धका क्रममा इजरायलले इरानका सैन्य, सरकारी र आणविक मिसाइल कार्यक्रमसँग सम्बन्धित संरचनाहरूमा व्यापक क्षति पुर्याएको दाबी गरेको छ। नेतान्याहुले इजरायलको सुरक्षा क्याबिनेटलाई जानकारी दिँदै, ‘तेहरानको आकाशमा नियन्त्रण कायम भएको छ,’भने।
ट्रम्पले अन्तमा एकताको सन्देश दिँदै भने, ‘ईश्वरले इजरायल, इरान, मध्यपूर्व, अमेरिका र सम्पूर्ण विश्वलाई आशीर्वाद दिनुहोस्।’
यसैगरी केही साताअघि भारत र पाकिस्तानबीच भएको युद्धको अन्त्य गर्न पनि अमेरिकी राष्ट्रपति ट्रम्पले प्रमुख भूमिका खेलेका थिए ।



0 comment