काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानले पुर्ण युद्धविराम गर्न सहमति जनाएको बताएको छ ।

अमेरिकी प्रशासनका एक उच्च अधिकारीले दुबै इजरायल र इरानले युद्धविराममा सहमति जनाएको बताएको सीबीएसले उल्लेख गरेको छ ।

तर  इरान र इजरायलले भने औपचारिक रूपमा उक्त युद्धविरामको पुष्टि गरेका छैनन् ।

सीबीएसले उल्लेख गरे अनुसार राष्ट्रपति ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग सिधा संवाद गरेका थिए। इजरायलले यदि इरानबाट थप आक्रमण नहुने हो भने युद्धविराममा सहमति जनाउने बताएको छ ।

अमेरिकी प्रशासनका वरिष्ठ अधिकारीका अनुसार यो युद्धविराम अमेरिकाका उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो, र विशेष दूत स्टीभ विटकोफले इरानीहरूसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संवाद गरेर सम्भव भएको हो।

यसअघि इरानले शनिबार आफ्ना आणविक स्थलहरूमा गरिएको आक्रमणको जवाफमा कतारस्थित अमेरिकी सैन्य आधारमा समेत मिसाइल प्रहार गरेको थियो।

राष्ट्रपति ट्रम्पले उक्त आक्रमणलाई धेरै कमजोर प्रतिक्रिया भनेका छन् र इरानले पहिल्यै सूचना दिएकोमा धन्यवाद पनि दिएका छन्। उनले भनेका छन् कि अमेरिकी वा कतारी पक्षमा कुनै पनि क्षति भएको छैन।

कतारले भने अमेरिकी नियन्त्रणमा रहेको अल उदीद सैन्य अड्डामा प्रहार गरिएका सबै मिसाइलहरू रोकिएको दाबी गरेको छ र आक्रमणलाई खुला उल्लङ्घन भनेको छ।

इरानको यो प्रतिक्रिया अमेरिकी सेनाले दुई दिनअघि इरानभित्रका तीन आणविक स्थलहरूमा व्यापक आक्रमण गरेपछि आएको हो।