काठमाडौं - इरानमा अमेरिकाले आक्रमण सुरु गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानका तीन आणविक स्थलहरू फोर्डो, नतान्ज र इस्फाहानमा सफलतापूर्वक आक्रमण गरेको बताएका छन् ।
इजरायल र इरानबीचको द्वन्द्व दोस्रो सातामा प्रवेश गर्दैगर्दा अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार बेलुकी आक्रमण गरेको घोषणा गरेका हुन् । यो कारबाहीमा अमेरिकी B-2 स्टेल्थ बम वर्षक विमान प्रयोग गरिएको सीएनएनले उल्लेख गरेको छ ।
यी तीन आणविक स्थलहरू के हुन् त ?
नतान्ज
यो आणविक कम्प्लेक्स राजधानी तेहरानबाट करिब २५० किलोमिटर (१५० माइल) दक्षिणमा अवस्थित छ र इरानको सबैभन्दा ठूलो युरेनियम प्रशोधन केन्द्र मानिन्छ।विश्लेषकहरूका अनुसार यहाँ युरेनियम प्रशोधनका लागि आवश्यक सेन्ट्रिफ्युजहरू विकास र निर्माण गरिन्छ जुन प्रविधिले युरेनियमलाई आणविक इन्धनमा रूपान्तरण गर्छ।
न्यूक्लियर थ्रेट इनिसिएटिभका अनुसार नतान्जमा छ वटा भुईंमाथिका भवनहरू र तीनवटा भुईंमुनिका संरचनाहरू छन् जसमा दुईवटा संरचनाहरू ५० हजार सेन्ट्रिफ्युज राख्न सक्ने क्षमताका छन्। अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी (IAEA) अनुसार इरानले यहाँको पायलट फ्युल इनरिचमेन्ट प्लान्टमा युरेनियमलाई ६० प्रतिशत शुद्धतासम्म प्रशोधन गरिरहेको थियो। हतियार स्तरको युरेनियम ९० प्रतिशत शुद्धता आवश्यक हुन्छ।
फोर्डो
पवित्र शहर कोम नजिकै पहाडको गहिराइमा रहेको यो केन्द्रको वास्तविक आकार र प्रकृतिबारे अझै धेरै कुरा अज्ञात छन्।मुख्य हलहरू करिब ८० देखि ९० मिटर (२६२ देखि २९५ फिट) जमिनमुनि रहेका छन्। इजरायली अधिकारीहरू र स्वतन्त्र रिपोर्टहरूका अनुसार यति गहिरो लक्ष्यमा प्रहार गर्न सक्ने बम अमेरिकी सेनासँग मात्र छन्।
IAEA को पछिल्लो रिपोर्टअनुसार इरानले फोर्डोमा पनि ६० प्रतिशत शुद्ध युरेनियम उत्पादन तीव्र रूपमा बढाएको छ।विशेषज्ञ र IAEA का अनुसार यो केन्द्रमा हाल २ हजार ७ सय सेन्ट्रिफ्युज छन्।
इस्फाहान
मध्य इरानमा रहेको इस्फाहान देशको सबैभन्दा ठूलो आणविक अनुसन्धान केन्द्र हो।NTI का अनुसार यो सुविधा चीनको सहयोगमा निर्माण गरिएको हो र सन् १९८४ मा सञ्चालनमा आएको हो।इस्फाहानमा करिब ३ हजार वैज्ञानिकहरू कार्यरत छन् र यस स्थललाई इरानको आणविक कार्यक्रमको केन्द्र भएको शङ्कामा हेरिएको छ।
NTI भन्छ यहाँ चीनबाट आपूर्ति गरिएका तीन साना अनुसन्धान रिएक्टरहरू सञ्चालनमा छन् साथै कनभर्जन सुविधा,इन्धन उत्पादन कारखाना,जिरकोनियम क्ल्याडिङ्ग प्लान्ट लगायत अन्य प्रयोगशालाहरू र संरचनाहरू रहेका छन्।
यसैबीच राष्ट्रपति ट्रम्पले अमेरिकी जनतालाई पूर्वी समय अनुसार राति १० बजे ह्वाइट हाउसबाट सम्बोधन गर्ने घोषणा समेत गरेका छन्।
राष्ट्रपति ट्रम्पले केही दिनदेखि आक्रमणबारे विचार गर्दै आएका थिए। शनिबारको सुरुआतमा इजरायलले इरानको कुड्स फोर्सका दुई कमान्डरलाई मारिएको दाबी गर्दै इरानी सैन्य लक्ष्यहरूमा व्यापक कारबाही गरेको बताएको छ ।
उता इरानले पनि इजरायलमा दुईवटा इरानी ड्रोनले दुर्लभ रूपमा देशको हवाई सुरक्षा प्रणालीमा आक्रमण गरेको जनाएको छ ।



0 comment