काठमाडौं - इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनेईले मंगलबार राति इजरायलविरुद्ध युद्धको घोषणा गरेका छन्। सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले लेखेका छन्, ‘युद्ध सुरु हुन्छ। हामी इजरायललाई कडा जवाफ दिनेछौँ। कुनै दया देखाइने छैन।’
यस घोषणापछि इरानले इजरायलतर्फ २५ मिसाइल प्रहार गरेको छ। इरानी सञ्चार माध्यमका अनुसार, इरानी सशस्त्र बलको शाखा ले बुधबार बिहान इजरायलमाथि ‘फतह-१’ नामक हाइपरसोनिक मिसाइल प्रयोग गरेको पुष्टि गरेको छ। यो पहिलो पटक हो जब यो मिसाइल प्रयोग गरिएको हो।
फतह मिसाइल ध्वनिको गतिभन्दा पाँच गुणा तीव्र गतिमा उड्ने क्षमतायुक्त ‘हाइपरसोनिक’ मिसाइल हो। इरानी पक्षले मिसाइलहरूले इजरायली एयर डिफेन्स प्रणालीका साथै सुरक्षित स्थानहरूमा पनि प्रहार गरेको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ। यद्यपि इजरायलमा कति क्षति भयो भन्नेबारे हालसम्म कुनै आधिकारिक जानकारी आएको छैन। वर्तमान अवस्थाले मध्यपूर्व क्षेत्रमा झन् ठूलो संघर्षको संकेत देखिएको छ।
यसैबीच, वाशिङ्टनस्थित मानव अधिकार संस्थाले इरानमा हालसम्म मृत्यु हुनेहरूको सङ्ख्या ५ सय ८५ पुगेको दाबी गरेको छ। घाइतेको सङ्ख्या १ हजार ३ सय २६ पुगेको उल्लेख गरिएको छ।
इरानी सरकारले भने आधिकारिक रुपमा सोमबार अन्तिमपटक विवरण सार्वजनिक गर्दै २ सय २४ जनाको मृत्यु र १ हजार २ सय ७७ घाइते भएको जानकारी दिएको थियो। पछिल्लो अवस्थाबारे भने सरकारले अझै पुष्टि गरेको छैन।



0 comment