काठमाडौं - प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार अहमदाबादस्थित सिभिल अस्पताल पुगेर हालैको विमान दुर्घटनाबाट जीवित बच्न सफल रमेश विश्वासलाई भेटेका छन्।
अस्पतालमा भेटका क्रममा प्रधानमन्त्रीले रमेशको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै दुर्घटनाको विवरणबारे सोधपुछ गरेका थिए। रमेशले प्रधानमन्त्रीलाई त्यस दिन घटेको सम्पूर्ण घटना सुनाएका थिए। ४० वर्षका रमेश भारतीय मूलका बेलायती नागरिक हुन्।
यसअघि बिहीबार प्रधानमन्त्री मोदी स्वयं विमान दुर्घटनास्थल पुगेका थिए। उनले त्यहाँ उपस्थित मन्त्री र सुरक्षा अधिकारीहरूसँग दुर्घटनाको कारण, उद्धार कार्य र पीडितको अवस्थाबारे छलफल गरेका थिए।
बिहीबार दिउँसो अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७–८ मोडेलको विमान उडान भरेको केही समयमा नै खसेको थियो। उक्त विमानमा चालक दलका १२ सदस्यसहित कुल २४२ जना सवार थिए। दुर्घटनामा २४१ जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने रमेश मात्र एक्लो जीवित यात्रुका रूपमा उद्धार भएका हुन्।
साथै, विमान खस्दा जमिनमा रहेका मानिसहरू पनि मारिएका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार, हालसम्म दुर्घटनास्थलबाट २६६ शव फेला परिसकेका छन्। उद्धार तथा पहिचान कार्य अझै जारी रहेको छ। प्रधानमन्त्री मोदीले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै सरकारबाट सक्दो सहयोग गरिने प्रतिबद्धता जनाएका छन्।


0 comment