म र सिद्धार्थ सँगसँगैका साथी थियौँ
मेरो सानो घरबार थियो
सिद्धार्थको भव्य दरबार थियो
सिद्वार्थले बिहे गर्‍यो
र मैले पनि
सिद्धार्थको घरमा राहुल जन्मियो
मेरा पनि जन्मिए एक हुल बच्चाहरु 

एकरात शहरमा सनसनी मच्चियो
सिद्धार्थले दरबार छोड्‌यो रे
मैले सोचेँ - सिद्धार्थ बहुलायो

म निरन्तर सुखको खोजमा लागेँ
धन क‌माउने सपना देखेँ
जागिर खाएँ
अमूल अकुत क‌माएँ
व्यभिचार गरेँ
भ्रष्टाचार गरेँ
कतिलाई ढाँटे
कतिको तलुवा चाटेँ
धनको मोहमा
मैले देश बिर्सें
मानवतालाई लात हाने 

यता मैले धनको खेती गर्दा
उता सिद्धार्थ ज्ञानको खोजमा थियो
मैले विलासको कल्पवृक्ष खोज्दै गर्दा
सिद्धार्थ ध्यानको वोधिवृक्ष रोज्दै थियो

अहिले तेस्रो नेत्र खुलेपछि बुझ्दैछु
बहुलाएको सिद्धार्थ होइन,
बहुलाएको म आफैँ रहेछु 

सम्पन्नताबाट मुक्ति खोज्न
सिद्धार्थले भत्कायो वन्धनका दिवारहरु
विपन्नतबाट मुक्ति खोज्न
मैले मेरै वरिपरि खडा गरेँ मोहका दिवारहरु
सिद्धार्थले शान्ति खोजेको रहेछ
मैले अशान्ति रोजेको रहेछु
सिद्धार्थले स्वतन्त्रताको उन्मुक्त आकाश खोज्यो
मेले दासताको पिँजडा रोजेँ
सिद्धार्थ ज्ञानको महासागरमा डुब्यो,
म अज्ञानताको एक्वेरियममा कैद भएँ 

सिद्धार्थले त्याग र निर्वाणको गौरव खोज्यो
मैले वासनाको सौख रोजेँ
समय बित्दै जाँदा
त्यागी सिद्धार्थ बुद्ध बन्यो
भोगी म बुद्धु बनेँ