एसलिंगन नगर र त्यहाँको पुरातात्विक क्षेत्र अवलोकन गरी स्पायर फर्कदा बेलुकाको ९ बजिसकेको थियो । तत्पश्चात हामी आ–आफ्नो नियमित कार्यमा लाग्यौँ । अध्ययनले निरन्तरता पाइनै रहेको थियो । त्यसैबिच सेप्टेम्बर महिनाको अन्तिम सप्ताहन्तमा जर्मनीको भुर्च्जवुर्ग भन्ने शहरमा जर्मनीको सोसलिष्ट पार्टीको भगिनी संस्था फ्रेडरिक एवर्ट फाउण्डेसनले सरकारी कर्मचारीहरु आवद्ध ट्र्ड युनियन सम्बन्धि एक ३ दिने सेमिनार कार्यक्रम आयोजना गरेको रहेछ । मेरी महिला मित्र मोनिका क्लेम्स्टाइन त्यस ट्रेड युनियनसँग आवद्ध भएको कारण उनले त्यस कार्यक्रममा मेरो सहभागिता निश्चित गरेकी थिइन् । सो अनुरुप शुक्रबार बेलुकी कलेज सकेर उनकै कारमा हामी दुइ भुर्च्जवुर्ग तर्फ लाग्यौँ । स्पायरबाट भुर्च्जवुर्ग पूर्व दक्षिण तर्फ १७७ किलोमिटरको दुरीमा रहेको हुँदा कारमा हामीलाई त्यहाँ पुग्न २ घन्टा मात्रै लाग्यो । करिब ७:३० बज्दा हामी त्यहाँ पुगी कोठा लिई बेलुकाको खानाको कुपन लिएर तल रेष्टुराँमा झरीसकेका थियौँ । हरेक दिन सेमिनार २ बजेसम्म मात्र र त्यसपछि त्यहाँको ऐतिहासिक स्थल घुमाउने कार्यक्रम भएको हुँदा मलाई ज्यादै खुसी लागेको थियो । भोलीपल्ट शनिबारको पहिलो दिनको सेमिनारमा भाग लिई हामी करिब ३ बजे तिर भुर्च्जवुर्ग रेसिडेन्स दरबार अवलोकन गर्न त्यहाँ जम्मा भईसकेका थियौँ ।

भुर्च्जवुर्ग रेसिडेन्स दरबार 

यो यूरोपकै गौरवशाली ऐतिहासिक दरबार रहेछ । बारोक र रोक्कोको को मिश्रण शैलीमा माइन नदिको किनारमा बनेको यो दरबार सन १९८१ देखि नै यूनेस्कोको विश्व सम्पदा सूचीमा परेको रहेछ । यो दरबार उत्तरी यूरोपमा रहेका अन्य दरबारभन्दा भिन्न हुनुको कारण भनेको यसको निर्माण उत्तरी इटलीको दरबारको शैलीमा हुनु रहेछ । सन १७०१ मा निर्माण शुरु भएको यो दरबार आर्किटेक्ट वाल्टहासर नइमानले राजकुमार विशप जोहन फिलिपका लागी डिजाइन गरेका रहेछन् । जहाँ चार महाद्धिपका तस्विरहरु झुण्ड्याइएका रहेछन् । यस दरबारभित्र रहेका ४० वटा अति नै विलाशी कोठाहरु विश्वभरिका पर्यटकहरुको आर्कषणको केन्द्र रहेछ । पेशागत रुपले दक्ष गाइडहरुले पर्यटकहरुलाई ती कोठामा घुमाउँदा रहेछन् । राजकुमार जोहान फिलिपले आफनो राजगद्दीमा बसेपछि अष्ट्रो हंगेरी विरुद्ध अदालतबाट एक मुद्दा जिती ६ लाख गुल्डेन (तत्कालिन हंगेरीको मुद्रा) प्राप्त गरेको र त्यही पैसा खर्च गरी यो दरबार बनाउन शुरु गरिएको रहेछ । तर उनको मृत्यु पछि यत्रो ठूलो दरबार बनाएर के गर्नु भनी उनका छोरा क्रिस्टोफले उत्तरी तर्फको मोहोडा मात्रै बनाइ आफनो निवासको लागि प्रयोग गरेका रहेछन् । सन १७३० मा राजकुमार विशप फ्रेडरिकले दरबारको दक्षिण मोहडा बनाउन लगाएका रहेछन् र त्यसभित्रको विश्व विख्यात भर्‍याङ्गको भने सन् १७३७ निर्माण सम्पन्न भएको रहेछ । त्यसपछि दरबार अगाडिको बगैँचाको निर्माण सन् १७४४ मा सम्पन्न भएको रहेछ । यस दरबारभित्रको वादशाहको विशाल हलको निर्माण सन् १७४२ मा सम्पन्न भई सन् १७४५ आइपुग्दा त्यहाँ सिंगार्ने कार्य र विशाल ऐनाहरु राख्ने कार्यहरु भएका रहेछन् । सन १७७२ मा दरबारभित्रको गजुर, ठूलो हल, विश्वविख्यात भर्‍याङ्गलाई ३ वर्ष लगाएर इटलीका भेनेसियाका प्रख्यात कलाकार जोभान्नी वात्तिस्ताले फ्रेस्को कलाबाट सिंगारेका रहेछन् ।  ६ लाख गुलडेनबाट सबै निर्माण सक्ने भनिएतापनि यस दरबारको लागत १५ लाख गुल्डेन पुगेको रहेछ । सन् १८०२ मा भुर्च्जवुर्गको राजारजौटा उन्मुलन भई इटली तोस्कनाका ग्राण्ड ड्युकको शासन अन्तर्गत पुगेपछि दरबारको दक्षिणी मोहडामा तोस्कानी कक्ष भनेर धेरै कोठाहरु थपिएको रहेछ । सन् १८०६ देखि १८१३ सम्ममा सम्राट नेपोलियन ३ पटक यो दरबारमा आई सुतेका रहेछन् । उनको लागि भनेर नवशास्त्रीय शैलीको दुईजना सुत्न मिल्ने ठूलो खाट र खाटसँगैको टेबल बनाइएको रहेछ । फ्रान्सको भर्साइ दरबारको बराबरीमा पुगेको यो दरबारलाई विश्वविजेता नेपोलियनले देखेपछि यसलाई यूरोपकै सबैभन्दा ठूलो “क्रिश्चियन पादरी बस्ने भिकारको दरबार” नामाकरण गरेका रहेछन् । 

सन १८१४ मा भुर्च्जवुर्ग वभेरियाको नियन्त्रणमा पुगेको रहेछ । त्यही बेलामा दरबारको चोकमा फ्रान्कोनिया नामक मूर्तिसहितको पानीको फोहरा बनाइएको रहेछ । दोश्रो विश्वयुद्धताका शत्रुको बम आक्रमणको कारण निकै क्षति पुगेको यो दरबारको जिर्णाेद्धार युद्धपश्चात सन् १९४५ बाट शुरु भई सन् १९८७ सम्म निरन्तर चलिरहेको रहेछ ।