सप्ताहन्त शनिवार र आइतवार बोपार्डको ऐतिहासिक शहर, लोरेलेई, अनि  कोब्लेन्च्जको किल्ला अवलोकन गरी आइतवार वेलुकी गेरहार्डको घर पुग्दा वेलुकीको ७ वजिसकेको थियो । साधारण चिज पाउरोटी र भेजेटेवल सुप खाएर हामी आआफनो कोठामा लाग्यौ किनकी सोमवार विहान ९ः३० को कक्षा भेट्टाउन हामी दुवै स्पायर पुग्नु नै थियो ।  नभन्दै विहान ५ वजे तात्तातो कफि पिए पश्चात गेरहार्डले आफ्नो कार स्टार्ट गरिसकेको थियो अनि ठ्याक्कै ९ वजे हामी स्पायर आइपुग्यौ । होष्टलको आफनो कोठामा पुगेर फाइल च्यापी कक्षामा उपस्थित हुंदा ताजा अनुभव भएको थियो । अध्ययनले फेरि आफनो गति लिएकै थियो । महिना वितेको पत्तै भएन । सेप्टेम्वरको दोश्रो हप्तामा हामीलाई स्कूलबाटै जर्मन संघीय प्रदेश वाडेन भुट्र्टेमवर्गको राजधानी स्टुटगार्ट लैजाने कार्यक्रम तय भएको रहेछ । सेप्टम्वर महिनाको दोश्रो शनिवार परेको थियो । हामी विहान ७ वजे स्कूलमा जम्मा भइसकेका थियो । दुरी जम्मा १३० किलोमिटरको थियो । विहान ९ वज्दानै हामी स्टुटगार्टको दरवार स्क्वायरमा पुगिसकेका थियौ । उही दिन गएर उही दिनमानै फर्कने कार्यक्रममा हामीलाई दरवार स्क्वायरको अतिरिक्त पहाड चढने रेलबाट नजिकैकको डाडामा लगी पुरै स्टुटगार्टको दृश्य देखाउने कार्यक्रम पनि थियो । त्यसैले लन्च अगाडि दरवार स्क्वायर अवलोकन गर्ने, त्यस पछि लिकमा हिडने पहाडी वस चढेर डाडाको टुप्पामा रहेको सेपुलक्रल चिहान (sepulchral chapel) पुग्ने योजना सहित पहिले हामी दरवार स्क्वायर अवलोकन गर्न तर्फ लाग्यौ । 
स्टुटगार्टको दरवार स्क्वायर


यो स्क्वायर नया दरवार (New Castle)  जाने क्षेत्रमा रहेको सबैभन्दा ठूलो स्क्वायर रहेछ । यस स्क्वायरको निर्माण सन १७४६ मा शुरु भई सन १८०७ मा सम्पन्न भएको रहेछ । सन १८०० को मध्य सम्म यो स्क्वायरमा सैनिकको परेडमात्र हुने गरेको कारण सर्व साधारणको लागि यो क्षेत्र निषेधित रहेछ । कार्ल स्क्वायर र सिलर स्क्वायर नजिकै रहेको यो स्क्वायरलाई राजा मार्ग (Koenig Strasse)  ले उत्तर देखि दक्षिणसम्म छुट्टाएको रहेछ । सन १९१८ पछि मात्रै यो स्क्वाएर क्षेत्र र यहा रहेको दरवार सार्वजनिक सम्पत्ती अन्तर्गत पर्न आएको रहेछ । दोश्रो विश्वयुध्दमा बम आक्रमणबाट ध्वस्त भएको यो दरवारको पुनरनिर्माण सन १९५८ मा शुरु भई १९६४ मा सम्पन्न भएको रहेछ । भित्रि भागलाई अति आधुनिक ढंगबाट वनाइएको कारण त्यहा प्रदेश सरकार वाडेन भुट्र्टेवर्गको सस्कृति मन्त्रालय र राजश्व मन्त्रालयको कार्यालय बसेको रहेछ । स्क्वायर वीच भएर गएको राजा मार्गमा ट्रकहरु गुडी वातावरण प्रदुषण गरेको कारण सन १९६० मा सार्वजनिक यातायातको लागि भनेर भूमीगत सडक वनाए पश्चात राजामार्गलाई पर्यटक र पैदल यात्रुहरुको लागि मात्रै भनेर खुला गरिएको रहेछ । यो स्क्वायर र त्यहा भएको दरवार पछिल्लो पटक सन १९७७ मा जिर्णोध्दर गरिएको रहेछ त्यस्को मुख्य कारण त्यहा त्यतिखेर संघीय पुष्प तथा वंगैचा प्रदर्शनीको आयोजना गरिएको रहेछ । 
यस स्क्वयारमा खुला संगीत कार्यक्रम, वालवालिकाका विभिन्न सडक नाटक तथा सास्कृतिक कार्यक्रम, क्रिसमस वजार नियमित रुपमा लाग्ने गर्दा रहेछन् । यहा एकै पटकमा ४० हजार दर्शकहरुले कार्यक्रम हेर्न मिल्ने रहेछ । एक डेढ घण्टा लगाएर त्यस मनमोहक स्क्वायर त्यहा भएको वंगैचा र नया दरवार अवलोकन गरी हामी दिउसोको खाना खानेक्रममा स्क्वायरमै रहेको एक रेष्टुरामा जम्मा भयो । हामीलाई त्यो खाना प्रादेशिक सरकारको मुख्य मंत्रीको कार्यालयले ब्यवस्था गरिदिएको रहेछ ।  खाना पछि हामी लिकमा हिडने वस चढी सेपुलक्रल चिहान (Württemberg Mausoleum) अवलोकन गर्न तर्फ लाग्यौ । 
 सेपुलक्रल चिहान (Württemberg Mausoleum) 


यो चिहान रहेको गजुराकारको भवन राजा विलहेल्म प्रथमले आफनी द्धितिय रानी रसियाकी क्याथेरिन पाभब्लोनाको संझनामा बनाउन लगाएको एक स्मारक रहेछ । सन १७७८ मा यसको निर्माण शुरु भई सन १८१९ मा सम्पन्न भएको रहेछ । पछि सन १८२० देखि १८२४ को अवधीमा राजा विलहेल्म र उन्की छोरीको चिहान पनि यही राखिएको रहेछ । अंगुरको बगैंचा वीच शहरको उचो भागमा रहेको कारण यहावाट सिंगै स्टुटग्राट शहर र अलि टाढा नेक्कार नदिको मनमोहक दृश्य देखिदो रहेछ । सन १८२५पश्चात यस भवनलाई रसियन अर्थोडक्स चर्चको रुपमा पनि प्रयोग गर्न थालिएको रहेछ ।