काठमाडौं - पर्यटकका लागि समय-समयमा नयाँ एडभेन्चर पस्किरहेको द क्लिफले भ्यालेन्टाइन्स डेको अवसरमा ट्यान्डम (दुई जनासँगै खेल्न मिल्ने) बन्जी र  विश्वकै लामो तथा अग्लो मेगाट्रोल  सञ्चालनमा ल्याएको छ ।

साथै फेब्रुअरीभर एडभेन्चरतर्फ ट्यान्डम स्विङ, स्काइ साइकल, स्काइ क्याफे र रिसोर्ट तर्फ कटेज रुममा २० प्रतिशत छुट उपलब्ध भएको जनाइएको छ ।

स्विङ गर्दा जोडीलेसँगै खेल्ने सुविधा पहिले नै भए पनि बन्जीमा भने नयाँ सुरुवात गरिएको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए । ‘अब पर्यटकले आफूले चाहेको व्यक्तिसँग अँगालो मारेर बन्जी गर्न सक्नुहुन्छ,’ कार्की थप्छन्, ‘यसले डर कम गराइ आत्मविश्वास बढाउने र थप आत्मीय अनुभव गराउनेछ ।’ ट्यान्डम बन्जी खेल्न १३ हजार ५ सय रुपैयाँ तोकिएको छ । फोटो भिडियो र दुईवटा बन्जी टिसर्टको थप दुई हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

दुई सय ५५ मिटर अग्लो मेगाट्रोलको लम्बाइ १२ सय २८ मिटर छ । यसमा  एकैपटकमा तीन जनासम्म खेल्न सकिन्छ । एक्लै वा जोडीसँगै पनि खेल्न सकिने र मेगाट्रोलको गति प्रतिघण्टा १४० किलोमिटरको हुनेछ । मेगाट्रोल खेल्न प्रतिव्यक्ति ४ हजार रुपैयाँ लाग्नेछ । ट्यान्डम (जोडी) खेल्दा ७ हजार रुपैयाँ र तीन जना खेल्दा ९ हजार ५ सय रुपैयाँ तोकिएको छ ।  टिसर्ट र भिडियो प्याकेजको थप शुल्क लाग्नेछ ।

‘मेगाट्रोल पनि साहसिक गतिविधिमै पर्छ, यसले जिपलाइन र रोलरकोस्टरको ब्लेन्डेड अनुभव दिन्छ,’ कार्कीले भने, ‘एक वर्षअघि निर्माण सुरु गरिएको मेगाट्रोल भ्यालेन्टाइन्स डेको मौका पारेर सुरु गरेका छौँ ।’ पोखरास्थित ‘द क्लिफ’ को काउन्टरबाट बुकिङ गर्नेले हजार रुपैयाँमा पोखरादेखि कुश्मासम्मको दुईतर्फी यातायात सुविधासमेत पाउने जनाइएको छ ।