लक्जेमवर्गको पेट्रुस किल्ला अवलोकन गरी जर्मनीको स्पायर फर्केसँगै मेरो १५ दिने उत्तर पश्चिम यूरोपको यात्रा सम्पन्न भएको थियो । १ अगष्ट १९८९ बाट आफनो तेस्रो सेमेष्टर शुरु भयो र म अध्ययनमा तल्लिन भए । हामी एसिया, अफ्रिका र दक्षिण अमेरिकाका विद्यार्थीहरु अन्तर्राष्ट्रिय विकासको लागि जर्मन फाउण्डेसनको छात्रवृत्तिमा प्रशासनिक विज्ञानमा स्नातकोत्तर अध्ययन गर्न जर्मनी स्पायरस्थित जर्मन प्रशासनिक विश्व विद्यालयमा एकत्रित थियौ । विदेशी विद्यार्थीहरु भएको कारण फाउण्डेसनले यदाकदा हामीलाई विश्वविद्यालय नजिकैको ऐतिहासिक महत्वको दर्शनीय स्थल घुमाउन लैजान्थ्यो । त्यसैक्रममा अगष्ट महिनाको पहिलो शनिवार हामीलाई जर्मनको संघीय प्रदेश राइनलाण्ड फाल्च्जको सदरमुकाम माइन्च्जमा रहेको क्याथेड्रल र त्यहाँ भएको विश्वकै प्रथम छापाखाना गुटेनवर्ग म्यूजियम देखाउन लगियो । स्पाएरमा ब्रेकफाष्ट सकी करिव ९ बजेतिर ठूलो बातानुकुलित बसले हामीलाई माइन्च्ज तर्फ लग्यो करिव १०ः३० बजे हामी माइन्च्ज पुगीसकेका थियौ । 
माइन्च्जको क्याथेड्रल
यो क्याथेड्रललाई सेन्ट मार्टिन क्याथेड्रल भनिदो रहेछ । यो माइन्च्ज शहरको मुटुको पैदलयात्री बजार क्षेत्रमा अवस्थित रहेछ । त्यहाँ मोटर, मोटर साइकल निषेध रहेछ । यो एक विसप रहेको १ हजार वर्ष पुरानो रोमन क्याथोलिक चर्च भए तापनि शताब्दी बित्दै जाँदा यहाँ विभिन्न वास्तुशैलीका मठमन्दिरहरु जोडिदै गएका रहेछन् । यो एक चर्च भित्रै तिन विशाल प्रार्थना कक्ष (नेभ) रहेछ । जुन सेन्ट मार्टिन र सेन्ट स्टेफानको नाममा समर्पित रहेछ । चर्च भित्र चिहान अनि सामन्त र राजघरानाको व्यक्तिहरुको समाधिस्थल पनि रहेछ । चर्चको विशाल चोकमा सेन्ट बोनिफाचे र मादोन्नाका मूर्तिहरु रहेछन् ।

चर्चको अर्को आकर्षण भनेको एक हजार वर्षमा सिर्जना गरिएका धार्मिक कलाकारिताको प्रस्तुति पनि रहेछ । सन ९७५ देखि १०११ सम्ममा नै माइन्च्ज शहर आर्थिक समृद्धिले भरिपूर्ण भएको रहेछ । त्यही बेला भिलिगिस संम्राट बनेका रहेछन् र उनैले प्रागरोमानी अत्तोनियन शैलीमा यो क्याथेड्रल निर्माण गर्न लगाएका रहेछन् । यसै कारण माइन्च्जलाई दोश्रो रोम पनि भनिदो रहेछ । प्रार्थना कक्षमाथीको दलिन (भल्ट) हरु इन्द्रधनुषाकारमा कलात्मक पाराले बनाइएका रहेछन् । यी भल्टहरुलाई ६ वटा टावर जस्ता देखिने स्तंभहरुले थेगेका रहेछन् । हेनरी चौथौं राजा हँुदा एघारौं शताब्दिमा यसलाई पुन सिंगारिएको रहेछ । अचम्मको कुरा के रहेछ भने सन १००९ मा यो क्याथेड्रलको निर्माण सकी उद्घाटन गर्ने दिनमानै आगलागि हुन गई निकै क्षति पुगेको रहेछ । क्याथेड्रलको सेन्ट स्टेफान कक्षमा सन १०११ मा सम्राट भिलिगसको चिहान राखिएको रहेछ । प्रार्थना कक्ष एक छेव (चान्सेल) को पूर्वी भाग सर्वसाधारण जनताहरु बस्नको लागि र पश्चिमी भाग विसप र अन्य पादरीहरुको लागि तोकिएको रहेछ । यहि पश्चिमी चान्सेल भने पुरै रोमको भेटिकन चर्चको जस्तै बनाइएको रहेछ ।

त्यतिखेर जर्मनीमा भएको तिन विशाल सम्राट क्याथेड्रल मध्येको पहिलो यो क्योथड्रल दोश्रो भोम्र्स्को र तेश्रो स्पायरको क्याथेड्रल पर्दा रहेछन् । सन १११० र ११३७ बीचको वर्षहरुमा जारवु्रकनका आर्कविशप आडाल्ब्रेटले यहाँ दुई तले गजुर बनाउन लगाएका रहेछन् । पछि १२औं शताब्दीमा गएर मुख्य प्रार्थनाकक्षलाई सिंगार्ने काम भएको रहेछ । पछि रोमन सभ्यताको पतनसँगै यस क्याथेड्रलमा गोथिक र बारोक शैलीका अतिरिक्त मठहरु थप्ने कार्य गरिएको रहेछ । चर्च भित्रको गोथिक शैलीको कलात्मक सिसाको झ्याल अवलोकन गर्नुपर्ने अर्को महत्वको विषय रहेछ ।

सन १२७९ मानै जडान गरिएकमा यी कलात्मक सिसाका झ्यालहरु क्याथेड्रलको गोथिक शैलीका गजुरकोमुनी माडेर्न गेर्टहेनर प्रति समर्पित रहेछन् जसले क्याथेड्रलको पश्चिमी खण्डको मुख्य प्र्रवेश हलमाथि स्मारक गजुर (मेमोरियल सापेल) बनाएका रहेछन् । करिव एक घन्टा जति क्याथेड्रलभित्र बसी अवलोकन गरी करिव १२ बजे तिर हामी त्यहाँ बाट निस्की दिनको खाना खान स्थानीय भोजनालय तर्फ लाग्यौ ।