एरहुस प्राचीन शहर र त्यहाँको क्याथेड्रल अवलोकन गरिसक्दा बेलुकीको ५ बजिसकेको थियो । मेरो यूरेल टिकटको १५ दिने म्याद सकिन ३ दिनमात्रै बाकि भएको हुँदा त्यसैदिन बेलुकी ६ बजेकोे रेल समातेर म जर्मनीको हानोभर तर्फ लागे र हानोभर आइपुग्दा रातीको १०ः३० भएको थियो । रेलवे स्टेशन नजिकैरहेको एक युथ होस्टलमा आई आफ्नो गुण्टा बिसाउँदा रातीको ११ः१५ भइसकेको थियो । बेलुकी रेल चढ्नु अघि एरहुसमा हल्का खाना खाएको हुँदा एक गिलास जुस पिएर म सुत्न तर्फ लागे । बिहान व्युझदा सात बजेको पत्तै भएन । हल्का व्रेकफाष्ट गरी हानोभरको हेर्नहाउजन बगैंचा अवलोकन गर्न तर्फ लागे ।
हेर्नहाउजन बगैंचा
हानोभर ऐतिहासिक कालमा प्रसियाको राजधानी थियो । यसका राजा फ्रेडरिक विलियम थिए अनि प्रधानमन्त्री चाही विस्मार्क । यिनै विस्मार्कले प्रसियाबाट जर्मनीको एकीकरण शुरु गरेका थिए जसरी गोर्खावंशले नेपालको एकिकरण शुरु गरेको थियो । जर्मनीको एकीकरण सम्पन्न हुनासाथ राजधानी हानोभरबाट वर्लिन सरेको थियो । यो हेर्नहाउजन बगैचा त्यही प्रसियाको राजाको निजी बगैचा थियो । अर्काे कुरा बेलायतमा जेम्स राजवंश पतन भएपछि यही प्रसियाको राजवंशबाट एकजना राजुकमारलाई लगी जर्जप्रथम नाम दिएर बेलायतको राजा बनाइएको थियो ।
यसप्रकार बेलायत र प्रसियाको राजघराना नातेदार पर्दथे । हानोभरबाट लगिएका विचरा जर्जप्रथमलाई त अंग्रेजी भाषा बोल्न पनि नआउने कारण उनले सबै राजकीय अधिकार विल अफ राइटस् मार्फत प्रधानमन्त्रीलाई प्रत्यायोजन गरेको कारण नै बेलायती राजा आलंकारिक र प्रधानमन्त्री कार्यकारी हुने चलन प्रथम प्रधानमन्त्री वालपोल देखिनै चल्न पुग्यो र आजसम्म त्यही कायम छ । यसैकारण पनि बेलायतमा संविधान भने कहिले पनि भएन । यी कुराहरु मैले यूरापियन इतिहासको विद्यार्थी भएको कारणले पढेको थिए । जव म हानोभर पुगे मैले पढेको कुराहरु झलझल्ती सम्झन पुगे ।
यो बगैचा हालको जर्मन संघीय प्रदेश लोअर साक्सोनी राज्यको राजधानी हानोभरको मुटुमा रहेको छ । यस बगैचा भित्र ग्रेट गार्डेन, वेर्गगार्डन, जिओरगेन गार्डेन र भेल्फेन गार्डेन गरी चार बगैचालाई एकत्रित गरी विशाल बगैंचाको निर्माण भएको रहेछ । यसलाई हानोभरको राजवंशको प्राकृतिक सम्पदाको रुपमा अहिले पनि ज्यूकात्यू राखिएको रहेछ । ग्रेट गार्डेन वारोक शैलीमा निर्माण गरिएको र वेर्गगार्डेन चाही करेसाबारीलाई विकास गरी विशाल वनस्पती (वोटानिकल गार्डेन) को रुपमा कालान्तरमा रुपान्तरित गरिएको रहेछ ।
जिओरगेन गार्डेन र भेल्फेन गार्डेन चाहि पुरै अंग्रेजी बगैंचाको शैलीमा बनाइएको रहेछ । जुन अहिले हानोभरका जनताको दैनिक मनोरञ्जनको स्थलको रुपमा रहेको छ । शताब्दीयौदेखिको यो बगैचा अहिले पनि विश्व पर्यटन स्थलको रुपमा रहेको छ । ५० हेक्टरमा फैलिएको यो बगैचाका बीच–बीचमा विभिन्न मूर्तिहरु, बगैचा अवलोकन गर्न जानेहरुको लागि हिड्ने बाटो, हरिया चौरहरु र एकै किसिमका विभिन्न फुलहरुले सजाइएको रहेछ । बगैचाको बीचमा सानो हेर्नहाउजन दरवार पनि रहेछ । बेलायतमा राजा बनाउन लगिएको जर्ज प्रथमकी माता सोफिया र पिता ऐर्नेस्ट आगुस्टुसले सन् १६४६ देखिनै यस बगैचालाई क्रमसः बिस्तार गर्दै लगेका रहेछन् । यहि वेर्गगार्डेनमा जर्ज प्रथमलाई मृत्युपछि बेलायतबाट ल्याई उनकै वावुआमा सँगै यही गाडिएको रहेछ ।
जर्ज प्रथमका नाती जर्ज तृतिय बेलायतका राजा भएतापनि उनले नवशास्त्रिय शैलीमा यस बगैचाको विकास गर्न ठूलो योगदान गरेका रहेछन् यद्यपि उनी कहिले पनि यस बगैचा अवलोकन गर्न बेलायतबाट हानोभर आएका रहेनछन् । यस बगैचाको अर्को आर्कषण भनेको यस भित्र रहेको सुन्तलाको बगैचा (ओरान्जेरी) रहेछ । यसै बगैचा भित्र कला, सँस्कृति र संगीत सम्बन्धी विभिन्न कार्यक्रमहरु वर्ष भरीनै आयोजना हुने गर्दा रहेछन् । अन्तराष्ट्रिय स्तरको झिलीमिली पटाका प्रतियोगिता यसै बगैचा भित्र हुने गर्दो रहेछ । यसै बगैचाभित्र रहेको पानीको फोहरा अर्को पर्यटक आर्कषणको केन्द्र रहेछ । जसलाई गोटफ्रिड लाइवनिचले बनाएको र बेलायत राजा जर्ज प्रथमले सन् १७२१ मा आएर उद्घाटन गरेका रहेछन् । यसलाई सिंगै यूरोपको सबैभन्दा माथिसम्म पानी फाल्ने फोहराको रुपमा लिइदो रहेछ । यो फोहराले ८० मिटर माथिसम्म पानी फाल्दो रहेछ ।
सन् १८६० मा यो फोहराको मर्मत सम्भार गरिएको रहेछ । बेर्ग गार्डेन भित्र भने ज्यादै दुर्लभ मानिने वनस्पति र बोट विरुवाहरुको संरक्षण गरिएको रहेछ । यसको साथै विभिन्न देशहरुबाट विभिन्न विरुवाहरु ल्याई यहाँ परिक्षण गर्ने गरिदो रहेछ । विशेष गरी सुर्ति र किंवु जातका विरुवाहरु यहाँ संरक्षण गरिएको रहेछ । यही बगैचा भित्र धानको विरुवा पनि परिक्षण गरिएको रहेछ जुन सफल हुन सकेको रहेनछ । सन् १८१७ देखि २० सम्म यहाँ पामको विरुवा ल्याई सफलताका साथ संरक्षण गरिएको रहेछ । सन् १८४५ मा गएर यो बगैचालाई घेर्न तारवार र पर्खाल लगाइएको रहेछ । दोश्रो विश्व युद्धमा जर्मनीको तहश नहश हुँदा यो बगैचालाई पनि बम आक्रमणले ध्वस्त बनाइएको रहेछ र पछि क्रमस जस्ताकोतस्तै बनाइएको रहेछ ।



0 comment