काठमाडौं — अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका सदस्यहरुलाई बम आक्रमणको धम्की आइरहेको स्रोतले बताएको छ ।
ट्रम्पको टिमको प्रवक्ताको जिम्मेवारी निर्वाह गर्दै आएकी क्यारोलिन लेविटका अनुसार ट्रम्पले विभिन्न पदमा नियुक्ति दिएकाहरुलाई मंगलबार र बुधबार बिहान धम्की आएको बताइएको छ । धम्की आएपछि एफबीआई लगायतका सुरक्षा एजेन्सीहरुलाई सतर्क बनाइएको छ । साथै कुनै पनि परिस्थितिको सामना गर्नका लागि आवश्यक तयारी पनि गरिएको समाचार स्रोतमा उल्लेख छ ।
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतमा नियुक्त एलिस स्टेफनिकले आफ्नो घरमा बम आक्रमणको चेतावनी सहितको सूचना आएको बताएकी छन् । पति र तीन वर्षको छोरासहित वाशिङ्टनबाट न्यूयोर्क जाँदै गर्दा खतराको सूचना प्राप्त भएको उनले बताएकी हुन् ।
ट्रम्पले नियुक्त गरेका पर्यावरण संरक्षण एजेन्सीका प्रमुख ली जेल्डिनलाई पनि पाइप बम आक्रमणको धम्की प्राप्त भएको समाचार एजेन्सीले बताएको छ । महान्यायाधिवक्ताका दाबेदार म्याट गेट्जलाई पनि आक्रमणको धम्की आएको बीबीसीले उल्लेख गरेको छ ।
(एजेन्सी)


0 comment