काठमाडौं - काठमाडौं महानगरपालिकाले सहरीकरणले क्षय भएको ‘ब्लु ल्याण्डस्केप’ (नदी, पोखरी, तलाउ, धारालगायत पानीजन्य प्रणाली) र ‘ग्रीन ल्याण्डस्केप’ (बगैँचा, पार्क, खुला हरियाली स्थान) को जीवन्तता प्राप्त गर्ने विषयमा पूर्व सम्भाव्यता अध्ययन सुरु गरेको छ ।  

वि. सं २०८१ असार १७ गतेबाट थालिएको अध्ययन आगामी चैत १८ मा सकिनेछ । अध्ययन, आकाशे पानी सङ्कलन र भूमिगत पानी पुनः भरण, कोरिडोरलाई हरियाली र ‘इकोलोजिकल’ चक्र नवीकरण, बागमती सहित उपत्यकाका नदी प्रणालीमा हरियाली, सडक सञ्जाल र तरल फोहर प्रशोधन सेवा, अनौपचारिक बस्ती व्यवस्थापन कार्ययोजना र नमूना परियोजना तथा  सहरी वन, पार्क एवं खुला स्थानको उपलब्धताका विषयमा केन्द्रीत हुने बताइएको छ । 

सहरी योजना आयोगका सदस्य बाबुराम भट्टराईका अनुसार यसअघि गरिएका प्रयत्न क्षेत्रगत मात्र भएका कारण अपेक्षित नतिजा प्राप्त हुनसकेको छैन । 

विगतका कमजोरी सच्याउँदै एशियाली विकास बैंक (एडिबी) को प्राविधिक सहयोगमा एकीकृत विकासको आधारका लागि अध्ययन थालिएको हो ।

मानवसहित रैथाने बासस्थान भएका जीव जनावरका लागि अनुकूल वातावरण बनाउन सके मात्र जीवन्त सहर निर्माण र यससँगै संस्थागत र प्रणालीगत क्षमता विकास, नीति पैरवीलगायत क्षेत्रमा काम हुने उहाँले बताउनुभयो ।

परम्परागत पानीका मुहान तथा राजकुलोमाथिको अतिक्रमणले ढुङ्गेधारामा पानी आउन छाडेको उहाँको भनाइ छ ।