काठमाडौं - चिसो बढेसँगै कालीगण्डकी नदीमा सञ्चालित र्याफ्टिङ (जलयात्रा) बन्द भएको छ ।
वर्षायाममा पानीको बहाव घटेसँगै असोजदेखि सुरु भएको जलयात्रा आइतबारदेखि बन्द गरिएको हो ।
आइतबार अन्तिम टोलीले तीन दिनको जलयात्रा पूरा गरेसँगै यस वर्षको जलयात्रा बन्द गरिएको रिभर एक्सप्लोरर नेपालका सञ्चालक होम पुनले जानकारी दिनुभयो ।
पहिलो याममा सेप्टेम्बर मध्यदेखि नोभेम्बर अन्तिम सातासम्म सञ्चालन गरिएको हो । विगतका वर्षभन्दा ढिलोगरी चिसो बढेकाले यस वर्ष दुई साता ढिलोसम्म र्याफ्टिङ सञ्चालन गरिएको पुनले बताउनुभयो । नदीमा पानी अत्यधिक चिसो भइसकेकाले अब मार्चदेखि जुनसम्म अर्को यामको जलयात्रा सुरु हुने उहाँको भनाइ छ ।
छोटो र पारिवारिक जलयात्राका लागि कालीगण्डकी नदीमा आउने पर्यटक कोभिड सङ्क्रमणपछि यस वर्ष उच्च रहेको सलोम र्याफ्टिङ ट्रेक एण्ड एक्सपेन्डिसनका सञ्चालक देव रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार लामो, समथर र कम बहाव भएकाले विदेशी नागरिक अन्य नदीभन्दा कालीगण्डकीलाई नै रोज्ने गर्दछन् । र्याफ्टिङका लागि कालीगण्डकी नदीमा अहिले विदेशी पर्यटकसँगै स्वदेशी पर्यटकको पनि आकर्षण पनि बढ्दै गएको उहाँले बताउनुभयो ।
कालीगण्डकी नदीमा यस वर्ष तीन हजारभन्दा बढीले जलयात्रा गरेको रेग्मीले बताउनुभयो ।
0 comment