काठमाडौं - राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासँग सम्बन्धित समस्या स्थानीय तहमा नै समाधान गर्न आग्रह गरिएको छ ।
नीतिगत समस्याका कारण दुई दशक बितिसक्दा पनि आयोजना पूरा नभएकामा चिन्ता व्यक्त गर्दै स्थानीयले द्रुत गतिमा आयोजनाको काम हुनुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधिसभा, पूर्वाधार विकास समितिका प्रतिनिधिसँगको छलफलमा स्थानीय र सरोकारवालाहरूले कानुनको परिधिभित्र रहेर आयोजनाका उल्झन टुङ्ग्याउनुपर्ने समितिका सदस्य ठाकुर गैरेले बताउनुभयो । उहाँले स्थानीय तहबाट हुने काम स्थानीय रुपमा नै सम्पादन गर्न सुझाव दिनुभयो ।
बाँकेका जनताको हितका लागि सो परियोजना आएको उल्लेख गर्दै सदस्य गैरेले नहर क्षेत्रमा भएको अतिक्रमणलाई स्थानीय तहसँग समन्वय गरेर हल गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय जल उपभोक्ता महासङ्घका अध्यक्ष शालिकराम डाँगीले सिक्टा सिँचाइ आयोजनाले पूर्णता पाउन अझै ४० वर्ष लाग्ने आशङ्का व्यक्त गर्नुभयो । उहाँले गौरवको आयोजना भनिए पनि बाँकेका किसानको भावनाको कदर नभएको गुनासो गर्नुभयो ।
स्थानीय भीम ओलीले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’ मा नै त्रुटि रहेको आरोप लगाउँदै त्यसलाई संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
दश वर्षभित्रै ३४ हजार हेक्टर कृषियोग्य जमिनमा सिँचाइ पुर्याउने योजनाका साथ थालिएको सिक्टा थप नौ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने योजना बनिसक्दा कार्य प्रगति भने निराशाजनक छ।
0 comment