काठमाडौं - चीनको तिब्बतमा रहेको विश्वको १४ औँ अग्लो हिमाल सिशापाङ्माको चुचुरोमा पहिला पुग्ने भन्ने देशीय प्रतिस्पर्धामा नेपालकी कीर्तिमानी पर्वतारोही दावा याङ्जुम शेर्पाले बाजी मार्नुभयो । 

उहाँले नेपालको राष्ट्रिय झण्डा चीनको सबैभन्दा अग्लो चुचुरोमा फहराउनुभयो । “धेरै विदेशीलाई पछि पारेर पहिलो नेपाली महिलाको कीर्तिमान बनाउँदा एकदमै खुशी छु”, पर्वतारोही दावा याङ्जुम शेर्पाले भन्नुभयो, “चीन, रसिया, ताइवान, अमेरिका, बेलायतलगायतका धेरै आरोहीसँग प्रतिस्पर्धा गरेर महिला आरोहीले उनीहरु भन्दा चाँडो आफ्नो मुलुकको झण्डा फहराउन पाउँदा छुट्टै खुशी र गौरवको अनुभूति हुँदो रहेछ ।”
    
शेर्पाले आफ्नै प्रयासमा उक्त इतिहास रच्नभएको हो । “जे जस्तो भएपनि चीनमा गएर देशको झण्डा फैलाउन  पाउँदा निकै खुशी लागेको छ”, उहाँले भन्नुभयो, “विदेश गएपछि मात्रै नेपालको महत्व थाहा हुन्छ । युरोप अमेरिकामा भन्दा सिशापाङ्मा आरोहण गरेर नेपालको झण्डा फहराउन पाउँदा बढी भावनात्मक भइँदो रहेछ ।”

अदम्य साहस र मेहनतले मानिसलाई सफलताको शिखर चढाउँछ । शेर्पाको अनवरत प्रयासले सिशापाङ्माको शिखर मात्रै पुर्‍याएन । एक पटक विश्वभरको ध्यान उहाँ तर्फ केन्द्रित भएको छ । 

करिब २० दिनको अथक सङ्घर्षमय शिखर आरोहणले दावा याङ्जुम सिशापाङमाको सफल आरोहण गरेर विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला बन्नुभएको छ ।

दोलखाको रोल्वालिङकी ३३ वर्षीया दावाले यही असोज १६ गते बुधबार बिहान ५ बजे तिब्बतस्थित विश्वको १४औँ अग्लो (८०२७ मिटर) अग्लो सिसपाङ्मा हिमालको सफल आरोहण गरेर यो कीर्तिमान आफ्नो पोल्टामा पार्नुभएको हो । 

सर्वोच्च शिखर सगरमाथाको चार पटक सफल आरोहण गरिसक्नुभएकी दावाले नयाँ कीर्तिमान कायम गर्नुभएको हो । आरोही शेर्पाले अब पनि ‘क्लाइम्बिङ गाइड’ लाई नै निरन्तरता दिने बताउनुभयो  ।