काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्र हाम्रो अर्थतन्त्रको मुख्य अङ्ग भएको बताउनुभएको छ ।

बुधबार ४४ औँ विश्व खाद्य दिवसको अवसरमा शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले मुलुकका ठूलो जनसङ्ख्या कृषिमा संलग्न हुने गरिबी र भोकमरीबाट त्यही संलग्न नागरिक पीडित हुने दुः खद् अवस्था रहेको बताउनुभयो ।

‘‘नेपालमा करिव ६२ प्रतिशत परिवार कृषिमा संलग्न रहेको भएयता पनि हामी खाद्यान्नको अभाव परिपूर्तिका लागि खाद्यान्नको आयात गरिरहेका छौँ । अझै हाम्रा दिदीबहिनी, दाजुभाइहरू गरिबी, अभाव र भोकमरीको जिन्दगी बाँचिरहेका छन् ।,’’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘यति उर्वर धर्तीमा यस्ता मिहिनेती जनता यस्तो हालतमा हुनु जति दुःखदायी विषय अरू केही हुँदैन ।

त्यसैले वर्तमान सरकारले यो अवस्थाको अन्त्य गर्नका लागि सबै प्रयास केन्द्रित गरेको छ । अझै पनि १३ प्रतिशत जनसङ्ख्या तथा ४२ जिल्ला खाद्य असुरक्षाको स्थितिमा रहेका छन् । हामी यसको दीर्घकालीन अन्त्य गर्न चाहन्छौँ ।’’

प्रविधि र उद्यमशीलताको विकास गरी कृषिमा अल्झिएको जनसङ्ख्यालाई अन्य क्षेत्रमा जान ‘प्रेरित’ गर्ने र त्यसका लागि ‘अनुकूल’ वातावरण सिर्जना गर्ने पनि उहाँले बताउनुभयो ।

यसैबीच, उहाँले कृषिको आधुनिकीकारण र व्यावसायिकरण मार्फत उत्पादन बढाई कृषि उपजको निर्यात गर्ने र यसका लागि अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यसमा ठोस कार्यक्रम अघि बढाइएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले नागरिकका खाद्य अधिकार र खाद्य सम्प्रभुतासम्बन्धी मौलिक हकहरूको परिणाममुखी हुने गरी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभएको छ ।

संयुक्त राष्ट्र सङ्घको विशेष निकाय खाद्य तथा कृषि सङ्गठन एफएओ द्वारा सन् १९४५ मा विश्व खाद्य दिवसको स्थापना भएको हो। नोभेम्बर १९७९ मा भएको २० औँ एफएओ सम्मेलनमा यसलाई विश्व दिवसका रूपमा मान्यता दिएको हो ।

हरेक वर्षको अक्टोबर १६ को दिन विश्वभरि खाद्यान्न सङ्कट र भोकमरीको विरुद्ध ऐक्यवद्ध भई लड्नका लागि विश्व खाद्यान्न दिवस मनाइदै आइएको छ।

राम्रो जीवन र राम्रो भविष्यका लागि खान पाउने सबैको अधिकार भन्ने नारासहित आज विश्व खाद्य दिवस मनाइँदै छ ।