काठमाडौं - यही असोज ११ र १२ गते आएको बाढीका कारण सप्तरीको विभिन्न गाउँमा किसानको केराखेती नष्ट हुँदा उनीहरूको व्यवसाय चौपट भएको छ । भारदहमा मात्रै बाढीले पाँच सय बिघामा लगाएको केराखेती नष्ट गरेको थियो ।

बाढीले फलेको केरा खेतमै डुब्नुका साथै ढलेर नष्ट भएको थियो । यसबाट व्यावसायिक रुपमा केराखेती गर्दै आएका किसान मर्कामा परेका छन् ।

बिक्री गर्ने समयमा आएको बाढीका कारण केराखेती गर्ने किसानलाई लाखौँ रुपैयाँको घाटा भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका- १ भलुवाका विलक्षण खग १० कट्ठामा लगाएको केराखेती कोसी नदीको बाढीले नष्ट गरेपछि लाखौँ रुपैयाँको घाटा बेहोर्नुपरेको बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “मैले १० कट्ठा जमिनमा करिब दुई सय जति केराका बोट लगाएको थिए, बाढीका कारण त्यो अहिले खेतमै सुकिरहेको छ ।” खंगले केराखेतीबाट गरेको आम्दानीकै भरमा नौ जनाको परिवार पाल्दै आउनुभएको थियो । 

केरा बेच्न तयार भएको समयमा आएको बाढीले सखाप पारेपछि अब अन्य विकल्प सोच्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ । 

खंगले दसैँ, तिहार तथा छठ पर्वमा गत वर्ष झैँ यस वर्ष पनि ठेलामा लिएर सप्तरीको कञ्चनपुर, रुपनगर हनुमाननगर र भारदह बजारमा बेचेर मनग्य आम्दानी गर्ने योजना बनाउनुभएको थियो । “बाढीले योजना भताभुङ्ग बनाइदियो”, उहाँले भन्नुभयो । फलेको केराको बोट खेतमै ढलेपछि पानीमै  कुहिएको उहाँले बताउनुभयो । 

सोही ठाउँका किसान शोभानन्द यादवले पनि सात बिघामा केराखेती लगाउनुभएको थियो । उहाँको पनि सबै केराका बोट बाढीका कारण नष्ट भएका छन् । उहाँ भन्नुहुन्छ,  “सरकारले राहत तथा क्षतिपूर्तिको व्यवस्था नगरे त यहाँका किसान पलायन हुनुपर्ने अवस्था छ ।” बैङ्कबाट ऋण काढेर केराखेतीमा हात हालेकाले ब्याज र लगानी उठाउन समस्या भएको उहाँको भनाइ छ । 

हनुमाननगर कङ्कालिनी- १ कोसी पलारमा लगाएको केराखेती बाढीले सखाप भएको छ । यहाँ एक सय पाँच किसानले जग्गा भाडामा लिएर केराखेती गर्देआएका थिए ।

बाढीले लाखौँको क्षति भएपछि स्थानीय किसानको केरा खेतीतर्फ आकर्षण घट्ने भएको छ । किसानले हालसम्म कुनै निकायबाट पनि राहत नपाएको गुनासो गरेका छन् ।

यसअघि गत वैशाखमा हावाहुरी आउँदा पनि केरा ढलेर किसानले ठूलो क्षति बेहोर्नुपरेको थियो ।