काठमाडौं - दुई दिनदेखि रोकिएको मन्थली-लुक्ला उडान पुनः सुरु भएको छ । सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा सोमबारदेखि मन्थली- लुक्ला उडान ठप्प भएको थियो ।

मौसम खुलेपछि आज बिहान ९ बजेदेखि मन्थली- लुक्ला उडान सुरु भएको नागरिक उड्डयन प्राधिकरण मन्थलीका उपप्रबन्धक हिरण्य साहले बताउनुभयो । 

उडान सुरु भएको एक घण्टामै १० भन्दा बढी उडान भइसकेका छन् ।

मौसम खराबीका कारण सोमबार र मङ्गलबार एउटा पनि मन्थली- लुक्ला उडान हुन नसक्दा सोलुखुम्बुको सगरमाथा क्षेत्र भ्रमणका लागि सडक मार्ग मार्फत मन्थली पुगेका एक हजारभन्दा बढी पर्यटक रोकिएका थिए ।

सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई रामेछापको मन्थली विमानस्थलबाट लुक्ला पुर्‍याउने र ल्याउने व्यवस्था गरेको छ ।