काठमाडौं ।

पछिल्लो समय सामान्य विवादमा पनि व्यक्ती हत्या गर्ने क्रम बढदो छ । विशेष गरी माधक पदार्थ सेवन गरी कुटपिट हुदा हत्या गर्ने प्रवृत्तिले समाजमा भयको अवस्था सिर्जना गरेको छ । यस्तै काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका–६, नयाँ बस्तीमा मंगलबार एक व्यक्तिको कुटपिट गरेर हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथर स्थायी घर भएर कपन बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक स्थायी घर भइ कपनमै बस्ने ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम घर भइ नयाँ बस्ती बस्ने २७ वर्षीया विमला भट्टराई रहेका छन । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए अनुसार, मंगलबार करिब ३ः२० बजेतिर नयाँ बस्तीस्थित लस लाइट स्कुल नजिकै सार्वजनिक स्थानमा सुर्खेत घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका–९ बस्दै आएका ४३ वार्षीय होमबहादुर फौजामगर अचेत अवस्थामा फेला परेका थिए ।

लगत्तै प्रहरी वृत्त, बौद्धबाट खटिएको टोलीले उनलाई उद्दार गरेर उपचारका लागि नारायणटारस्थित शंखरापुर अस्पताल पु¥याएको थियो । तर, चिकित्सकहरुले उपचारका क्रममा उनलाई मृत घोषित गरेका थिए ।

अनुसन्धानका क्रममा मगरलाई विभिन्न व्यक्तिहरुले कुटपिट गरेको खुलेको थियो । त्यसक्रममा जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त, बौद्धबाट खटिएको टोलीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको एसपी अधिकारीले बताएका छन । हत्याको कारण खुलिनसकेको प्रहरीको भनाइ छ ।