काठमाडौं - डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका- ७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हा्

दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताउनुभयो । 

दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका- ३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, निजका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो ।

प्रहरी निरीक्षक बमका अनुसार बसचालक वीरेन्द्र बोहरा गम्भीर घाइते हुनुभएको छ । उहाँलाई  उपचारका लागि धनगढी पठाइएको छ ।

अन्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । चालक निदाएकोले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।