काठमाडौं - कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चाैँडीका लागि छुटेको यात्रुवाहक बस डडेल्धुराको अमरगढी नगरपालिका–७  खसरेखानमा दुर्घटनामा पर्दा मृत्यु हुने ४ जनाको पहिचान भएको छ ।

दुर्घटनामा एक पुरुष, २ महिला र एक नाबालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा प्रवक्ता उपेन्द्रबहादुर बमले जानकारी दिनुभएको छ। 

मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमती बोहरा, सोही ठाउँकी अन्दाजी २६ वर्षीया कमला बोहरा, उनको दुईदिने शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहरा रहेका छन । 

गएराति पवनदुत यातायात प्रालिको ना ८ ख १०७८ नम्बरको बस सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
 

दुर्घटनामा घाइते हुनेमा पुचौर्डी नगरपालिका–७ का २४ वर्षीय नवराज साउँद, वडा नं. ६ का २४ वर्षीय राजेन्द्र साउँद, वडा नं. ८ का ४२ वर्षीय पदम बोहरा, २४ वर्षीय बस चालक बिरेन्द्र बोहरा, वडा नं. ७ का २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी रहेका छन् । 

यसैगरी, पुर्चौडी नगरपालिकाकै वडा नं. १० का दामोदर महरा, धनबहादुर महरा, कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय दिनेश साउँद, वडा नं. ५ की ६५ वर्षीय धनमती साउँद, डडेल्धुरा आलिताल गाउँपालिका–१ का २१ वर्षीय मुकुन्द बोहरा घाइते भएका छन् ।  

घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।