काठमाडौं । 
चन्द्रागिरि नगरपालिका वडा नं. १० मा रहेका विभिन्न उद्योगहरुमा बालश्रम अनुगमन भएको छ । नगरपालिकाकी उपप्रमुख वसन्ती श्रेष्ठ र वडा अध्यक्ष शिव महर्जनको अगुवाइमा बालश्रम अनुगमन भएको हो । चन्द्रागिरि नगरपालिका वडा नं. १० लाई वडाले बालश्रम मुक्त वडा घोषणा गर्ने कार्यक्रम छ । घोषणाको पूर्व सन्ध्यामा नगर उपप्रमुखसहितको टोलीले बालश्रम अनुगमनलाई तिव्रता दिएको हो । अनुगमनको क्रममा वडामा रहेका विभिन्न जुत्ता उद्योग, ईँट्टा उद्योग वसगाडीका हुट निर्माण कारखाना, गारमेन, औषधी उद्योग लगायतका उद्योगहरुमा बालबालिकालाई काममा राखे नराखेको अनुगमन गरिएको हो । अनुगमनमा उद्यागीहरु आफैले सहजीकरण गरेका थिए भने कतीपय उद्योगहरु वडामा दर्ता नगरिएको पाइएको थियो । 

अनुगमनका क्रममा नगर उपप्रमुख श्रेष्ठले नगरपालिका क्षेत्रमा कसैले पनि कुनैपनि उद्योगमा १८ वर्षभन्दा मुनीका बालबालिकाहलाई काममा नलगाउन निर्देश गर्नु भयो । उद्योग कलकारखाना होटेल लगायतमा क्षेत्रमा बालबालिकाको शोषण गरेको कसैले देखेमा जो कोहीले नगरमा रहेको नगरस्तरीय बालअधिकार समिति वडामा रहेको वडास्तरीय बालअधिकार समितिलाई तत्काल खबर गर्न पनि उप प्रमुख श्रेष्ठले सबैलाई आग्रह गर्नु भयो । अनुगमनका क्रममा वडा अध्यक्ष शिव कुमार महर्जनले यस वडालाई बालश्रम मुक्त वडाको रुपमा घोषणा गर्ने कार्यक्रम रहेको हुनाले उद्योगी व्यवसायिहरुले बालश्रम प्रयोगलाई निषेध गरी सहयोग गर्न आग्रह गर्नु भयो । 

उद्योगमा बालश्रम प्रयोग गरेको पाइएमा श्रमकार्यालयसँग समन्वय गरी कानुनी प्रक्रियामा जादा उद्योगीहरुलाई नै समस्या हुने भएको हुनाले पूरै वडामा बालश्रम निषेध गर्ने अभियानमा साथ दिन सबैलाई आग्रह गर्नु भयो । अनुगमनकै क्रमम चन्द्रागिरि नगरपालिका सामाजिक विकास शाखा तथा नगरका बालकल्याण अधिकारी रश्मी श्रेष्ठले वडालाई बालश्रम मुक्त वडा बनाउने अभियान आफ्नो साथ सधै रहने बताउदै यस कार्यमा संघसंस्थाहरुलाई पनि सँगै लिएर अगाडी जानुपर्ने धारणा राख्नु भयो । अनुगमनमा सरोकार राख्ने निकाय तथा बाल विकास समाजका प्रतिनिधिको पनि सहभगिता रहेको थियो ।